दुई घर जलेर नष्ट

दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दार्मा गाउँपालिका १ सिमलपुरमा आज भएको आगलागीबाट रु ७५ हजार नगदसहित रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट तसे कामी, कमल विक, अनिल विक र लक्ष्मण विकका घरमा रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको पीडित कमलले जानकारी दिनुभयो ।
घरमा कोही नभएका बेला एक्कासि आगलागी भएर घरमा रहेको नगद र आठ आना सुनसमेत नष्ट भएको बताइएको छ । “घरमा रहेको अन्नपात, लत्ताकपडा सबै सकियो, अब कसरी परिवारको गर्जो टार्ने, सबैले सहयोग गरेर परिवार बचाइदिनुस्”, अनिलले भन्नुभयो । दुई घरमा चार परिवार बस्दै आएकामा आगलागी भएपछि बिचल्लीमा परेको र अहिले पीडित परिवार आफन्तका घरमा बसेको इलाका प्रहरी कार्यालय फारुलाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE