नक्कली सुन फ्याँकेर हिड्ने गाडी बा ६ च ५५१९ कस्को थियो? प्रहरीको अप्रेशन नै शंकास्पद र असफल

‘कुदिरहेको स्कर्पियोबाट झोला फ्याँकेपछि हाम्रा प्रहरी झोलातर्फ केन्द्रित भए जसले गर्दा स्कर्पियो त्यहाँबाट भाग्यो। सायद प्रहरीलाई डाइभर्ट गर्न उनीहरुले त्यसो गरेको हुन सक्छ’, मंगलबार बिहान राजधानीको कमलादीमा बरामद भएको भनिएको १५ केजी ‘सुन’बारे जानकारी दिन काठमाडौं प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी श्याम ज्ञवालीले यसो भनेपछि त्यहाँ उपस्थित सञ्चारकर्मीले मुखामुख गरे। किनभने राजधानीको त्यति व्यस्त ठाउँबाट फरार भएको भनिएको स्कर्पियो पाँच घण्टासम्म पनि पक्राउ पर्न सकेको थिएन।

उनले बरामद भएको ‘१५ केजी सुन’मध्ये आधा केजीको एउटा विस्कुट मात्र सक्कली भएको र बाँकी सबै चाँदीलाई बाहिरबाट सुनले जलप लगाइएको जानकारी दिए। ‘नेपाल सुन चाँदी व्यवसायी संघले गरेको परीक्षणपछि झोलामा ४२ लाख ९ हजार पाँच सय रुपैयाँ बराबरको सुन र १५ लाख ५६ हजार चार सय रुपैयाँ बराबरको चाँदी भएको परिमाण पाइएको छ’, एसएसपी ज्ञवालीले भने।

झोलामा गोली नराखिएका दुई वटा चाइनिज पेस्तोल र दुई वटा खाली म्यागिजन भेटिनु, प्रहरीले सामान फ्याँकिसकेपछि स्कर्पियोलाई पिच्छा नगर्नु र पाँच घण्टा वित्दासमेत गाडी पक्राउ नपर्नुले घटना कहिलेको थियो भन्नेमै प्रश्न उठेको छ।

‘गाडी त्यहाँबाट फरार भएर अहिलेसम्म पक्राउ पर्न सकेन भन्नु नै शंकास्पद हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘ स्कर्पियोले प्रहरीलाई डाइभर्ट गर्न पेस्तोल र सुनसहितको झोला फाल्यो भन्नुको कुनै तुक देखिँदैन।’

सएसपी ज्ञवालीले स्कर्पियोमा सवारहरु नक्कली सुनका कारोबारी हुन सक्ने बताए। थोरै मात्रामा सुन र बाँकी सुनको जलप भएको चाँदी भएकाले सक्कली सुन भनेर बिक्री गरेको गिरोह सक्रिय भएको हुन सक्ने उनले बताए। नक्कली सुन फ्याँकेर गाडीमा सक्कली सुन लिएर पो फरार भए कि भन्ने प्रश्नमा उनले भने, ‘त्यो पक्राउ परेपछि अनुसन्धानले पत्ता लाग्ला।’ प्रहरीले स्कर्पियोको नम्बर खुलेको र बा ६ च ५५१९ नम्बरको भएको जनाएको छ। सवारी धनीका विषयमा भने प्रहरीले केही बताउन चाहेन।

चिनियाँ नाका र हवाई माध्यमबाट भित्रने अवैध सुन केही सस्तोमा विक्री हुने गरेको दाउ छोप्दै ठगि गिरोहले फलाम, चाँदी लगायत पदार्थमा सुनको लेपन लगाएर सक्कली सुन भनी बिक्री गर्ने गरेको प्रहरीका अघिल्ला विभिन्न अनुसन्धानबाट देखिने गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालको नेतृत्वमा भएको ‘सुन अप्रेशन’ मंगलबार बिहान ९ बजेको हो । परिसरले विज्ञप्ति नै जारी गरेर बिहान ९ बजेको अप्रेशन भनेको छ । तर, अप्रेशन नै शंकास्पद छ नै असफल पनि सावित भएको छ ।

प्रहरीले गाडी चेकजाँच गर्दैगर्दा बा ६ च ५५११ नम्बरको स्कार्पियो कसरी सजिलै भाग्न सफल भयो ? प्रश्न खडा भएको छ । डीएसपीको कमाण्डका आकस्मिक चेकप्वाइन्ट राखेको र कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएको स्कार्पियो रोक्न खोज्दा गाडीबाट ‘सुन जस्तो देखिने धातु’ फालेर हिँडेको पत्रकार सम्मेलनमा एसएसपी ज्ञवालीले जानकारी दिएका थिए ।

सुनको झोला र २ थान पेस्तोल फालेर भाग्ने गाडी रोक्न प्रहरीले किन सकेन भनेर प्रश्न गर्ने ठाउँ छ । किनकि, प्रहरीसँग हतियार थियो । टायरमा गोली हानेर पनि गाडी नियन्त्रणमा लिन सकिन्थ्यो ।

‘सामान फाल्यो, गाडी चाहिँ भाग्यो भन्ने तर्क नै हास्यास्पद छ,’ एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘आफ्नो मान्छे परेपछि जोगाउन नाटक गरेको देखिन्छ, यो अप्रेशन नै शंकास्पद छ ।’

काठमाडौँका चोक–चोकमा प्रहरी र ट्राफिक खटिन्छन् । सञ्चार सेटबाट खबर गरेर एरिया सिल गरेर पनि बा ६ च ५५११ नम्बरको स्कार्पियो पक्राउ गर्न सकिने अवस्था थियो । तर, त्यसो गरिएन ।

नभए प्रहरीले यातायात व्यवस्था कार्यालयको रेकर्ड तत्काल हेर्न सक्थ्यो । गाडी धनीलाई सम्पर्क गरेर घटनाबारे जानकारी पनि दिन सकिन्थ्यो । तर, यसो गरिएन् ।

WRITE COMMENTS FOR THIS ARTICLE