नेता ढुङ्गेलको अन्त्येष्टि

नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनुभएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारकै क्रममा ६० वर्षको उमेरमा आज दिउँसो सवा ३ बजे निधन भएको हो ।

विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको स्थानीयवासी रामहरि थापाले जानकारी दिनुभयो ।

आर्यघाटमा स्व ढुङ्गेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँले ढुङ्गेलको निधनले नेपाली काँग्रेसले निष्ठावान् र होनाहार नेता गुमाएको भन्दै दुःख व्यक्त गर्नुभयो । आर्यघाटमा काँग्रेसका नेताहरु शेखर कोइराला, बालकृष्ण खाँड, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, ३ नं प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायत काँग्रेस जिल्ला समितिका पदाधिकारी लगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

ढुङ्गेलको पार्थिव शरीरलाई गौशालादेखि शवयात्रा गरी आर्यघाट पु¥याएर श्रघाञ्जलि अर्पण गरी दाहसंस्कार गरिएको स्व ढुङ्गेलका भाइ विश्व ढुङ्गेलले जानकारी दिनुभयो । ढुङ्गेललाई जेठा पुत्र सविनले दागबत्ती दिनुभएको थियो । ढुङ्गेल विसं २०४० देखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका गाविस अध्यक्षसमेत निर्वाचित हुनुभएको थियो । उहाँले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालई खानेपानी खुवाएपछि उहाँलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए ।

नेपाली काँग्रेसका महासमिति सदस्य, काँग्रेस क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति, गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका ढुङ्गेलको जेठो पुत्र सविन, माइलो अनुप र कान्छो अभिषेक रहेका छन् । उहाँकी श्रीमती सुशीलाको गत वर्ष निधन भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE