नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन….

नेपालको पहिलो छायाँकार वैकुण्ठमान मास्केको निधन भएको छ । सात वर्षदेखि मृगौलाको रोगी मास्केलाई गत आइतबार कोरोना पुष्टि भएको थियो । कोरोनाको उपचारकै क्रममा शुक्रबार निदान अस्पतालमा ८३ वर्षको उमेरमा उनले प्राण त्यागेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । ‘उहाँ हप्ताको तीन पटक डायलाइसिस गराउनु पर्थ्‍यो । आइतबार कोरोना पुष्टि भयो । त्यसयता निदान अस्पतालमा उपचार गराउँदै गर्दा उहाँले शुक्रबार १:३० मा संसार छोड्नु भयो,’ लामाले भने । उनका श्रीमती र एक छोरी छन् ।

मास्केले सन् १९६६ मा ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूट अफ इन्डिया’बाट छायांकनमा ३ वर्षे अध्ययन सकाएका थिए । नेपाली फिल्ममा प्राविधिकका लागि भारतमा भर पर्नुपर्ने समयमा उनले २०२४ मा ‘हिजोआज भोलि’बाट साहयक छायाँकारको रुपमा काम थालेका थिए । त्यसपछि ‘परिवर्तन’, ‘मनको बाँध’हुँदै उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय हुँदै गए । उनले छायांकनसँगै निर्देशन र सम्पादनमा पनि आफ्नो अनुभव बटुलेका थिए । ‘ट्रान्सपोर्टेसन नेपाल’ र ‘बाँच र बाँच्न देऊ’ उनले निर्देशन गरेका वृतचित्र हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE