नेपाललाई चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्बभन्दा धेरैको वैदेशिक व्यापार

नेपालले चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्बभन्दा धेरैको वैदेशिक व्यापार घाटा भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा झण्डै ६ प्रतिशतले कमी हो।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस महिनासम्मको तथ्यांकअनुसार ६ महिनामा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँबराबरको व्यापारघाटा भएको हो।
झण्डै १० महिनादेखि कोरोना संक्रमणको कारण मुलुकको आन्तरिक खपत घटेको छ। फलतः आयातमा पनि कमी आइरहेको छ। आन्तरिक खपत घटेको र आयातमा कमी आउँदा व्यापारघाटा गत वर्षभन्दा कम भएको छ।

गत वर्षको पहिलो ६ महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड ४० लाखको हाराहारीमा थियो। अहिले यो घाटा ५।८० प्रतिशतले घटेको छ।
चालू आर्थिक वर्षको ६ महिनामा आयात घटेको छ भने निर्यात बढेको छ। ६ महिनामा मुलुकमा ६ खर्ब ६१ अर्ब २४ करोडभन्दा धेरैको आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४।८१ प्रतिशतले कमी हो। गत वर्ष ६ खर्ब ९४ अर्ब ६९ करोडको हाराहारीमा आयात भएको थियो।

त्यस्तै, निर्याततर्फ हेर्ने हो भने ६ प्रतिशतले वृद्धि भएको देखिन्छ। चालू आर्थिक वर्षको ६ महिनामा ६० अर्ब ८० करोड रुपैयाँ बराबरको निर्यात भएको छ। यस्तो निर्यात गत वर्षको पहिलो ६ महिनामा ५७ अर्ब २८ करोडको हाराहारीमा थियो।
मुलुकले ६ महिनामा कुल वैदेशिक व्यापार पनि घटेको छ। गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष झण्डै ४ प्रतिशतले वैदेशिक व्यापार घटेको छ।

चालू वर्षको पहिलो ६ महिनामा मुलुकको कुल वैदेशिक व्यापार ७ खर्ब २२ अर्ब ४ करोडभन्दा धेरै छ। जब कि गत वर्षको सोही अवधिमा यस्तो व्यापार ७ खर्ब ५१ अर्ब ९८ करोडको हाराहारीमा थियो।

झण्डै एक वर्षदेखि संसारभर फैलिएको कोरोना भाइरस संक्रमणले विश्वकै व्यापारमा संकुचन ल्याउँदा नेपालमा पनि त्यसको प्रभाव परेको देखिन्छ। आन्तरिक खपत घटेको र विकास निर्माणलाई चाहिने निर्माण सामग्रीको आयात पनि घट्दा वैदेशिक व्यापारमा कमी आएको हो।

मुलुकको वैदेशिक व्यापारघाटा हेर्दा सबैभन्दा धेरै भारतसँगै आधाभन्दा धेरै भएको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनाको भारतसँगको व्यापारघाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँबराबरको छ।
नेपालले भारतबाट ६ महिनामा ४ खर्ब ३८ अर्ब ८२ करोडको सामान आयात गर्दा ४३ अर्ब ५२ करोड रुपैयाँबराबरको निर्यात गरेको छ।

त्यस्तै, अर्को छिमेकी देश चीनसँगको व्यापारघाटा ९५ अर्ब ८१ करोडभन्दा धेरै छ। नेपालले चीनबाट ६ महिनामा ९६ अर्ब ३२ करोडको आयात गर्दा ५० करोड ७८ लाखको निर्यात गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE