नेपाल टेलिकम र प्रहरीबीच सम्झौता

नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामग्री सहयोग गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच हस्ताक्षर भएको छ । सम्झौतासँगै टेलिकमको प्रतीक चिह्न अङ्कित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् । सम्झौता एक वर्षका लागि गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने बताउनुभयो । “उच्च नैतिकता, अनुशासन, मर्यादा र खेलप्रतिको समर्र्पणमा लागेमात्र सम्झौताको सार्थकता हुन्छ,” उहाँले भन्नुभयो । राष्ट्रियतालाई चिनाउन फुटबल खेलले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

महानिरीक्षक खनालले आउँदै गरेको साग प्रतियोगितामा फुटबलमा पहिलो स्थान हासिल गरेर आफ्नो कौशल देखाउन पुलिसका खेलाडीलाई आग्रहसमेत गर्नुभयो । सागको सुरक्षामा नेपाल प्रहरी कटिबद्ध रहेको उहाँको भनाइ छ ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले नेपाल प्रहरीका खेलाडीहरुलाई खेलप्रति थप जिम्मेवार बन्न र दूरसञ्चार कम्पनीको सेवालाई थप विकास गर्न सम्झौताले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“कल बाइपासदेखि टेलिकमका तार चोरीलाई नियन्त्रण गर्न प्रहरीले टेलिकमलाई सहयोग गरेको छ,” उहाँले भन्नुभयो । सम्झौतासँगै प्रहरीका फुटबल खेलाडीले व्यावसायिकतासँगै खेललाई सँगै लैजान सहयोग पुग्ने उहाँको भनाइ थियो ।

प्रहरी र नेपाल टेलिकमबीच विसं २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ । शुरुका दिनमा पुरुष फुटबल खेलाडीका लागि मात्र प्रायोजन गर्दै आएको टेलिकमले विसं २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ ।

शुरुका दिनमा वार्षिक रु १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक रु ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE