नेयमारलाई लामो प्रतिबन्ध हुने सम्भावना…

पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए ।

खेल अवधिभर निकै आक्रामक रुपमा देखिएका दुवै टोलीका खेलाडी अन्त्यतिर हात हालाहाल मै उत्रँदा रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाए । त्यसअघि उनले १२ पटक पहेंलो कार्ड देखाउन बाध्य भएका थिए ।

रेफ्रीले हात हालाहाल गरेका जोर्डन अमाभी र लेभिन कुर्जावालाई सिधै रातो कार्ड देखाए । त्यसपछि मुख्य फलमा आबद्ध लियान्ड्रो पारेडेस र डारियो बेनेडेटोले दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरीए । रेफ्रीले नेयमारलाई कार्ड दिन भने भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिनुपर्यो ।

भीएआरमा हेर्दा नेयमारले मार्सेका डिफेन्डर अल्भारोलाई टाउको पछाडी हातले हानेको देखिएको थियो । रेफ्रीले त्यसपछि पहिले नै पहेंलो कार्ड पाएका नेयमारलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाहिर पठाए । नेयमारले मैदानबाट बाहिरिने क्रममा अल्भारोले रंगभेदी टिप्पणी गरेको बताए । उनले खेलपछि बोल्दै अल्भारोलाई टाउको पछाडी नभएर मुखमा मुक्का हान्नुपर्ने अभिव्यक्ति समेत दिएका थिए ।

लिगको अनुशासन समितिले खेलमा रेफ्रीले नदेखेको घटनामा पनि छानविन गर्ने बताएको छ । मार्सेका प्रशिक्षक आन्द्रे भीलास बोसका अनुसार मार्सेका खेलाडीलाई पीएसजीका एक खेलाडीले थुकेका समेत थिए । त्यस्तै नेयमारले रंगभेद टिप्पणीको आरोप लगाएका अल्भारोले आफुले त्यसो नगरेको ट्वीटरमा बताएका छन् । समितिले त्यसमा पनि अध्ययन गर्ने छ । लिगको नियमअनुसार रंगभेद टिप्पणी गर्ने खेलाडीलाई १० खेलसम्म प्रतिबन्ध हुनेछ । विपक्षीलाई थुकेको खण्डमा ६ खेलसम्म प्रतिबन्ध हुने प्रावधान छ । यस्तै विपक्षी खेलाडीलाई हात हाल्नेलाई ७ खेल प्रतिबन्ध लगाउने नियम रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE