नेयमार र नाइकीबीचको १५ वर्षे लामो सहकार्य टुङ्गिने

ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड नेयमार र अमेरिकी खेल सामग्री उत्पादन कम्पनी नाइकीबीचको १५ वर्षे लामो सहकार्य टुङ्गिने भएको छ । विदेशी सञ्चार माध्यमका अनुसार नेयमार र नाइकीबीच नवीकरण रकममा कुरा नमिल्दा सम्झौता थप नगरिएको हो । नाइकीले नेयमारलाई १३ वर्षको उमेरदेखि नै प्रायोजन गर्दै आएको थियो । नाइकीले यो अवधिमा नेयमारसँग ७८.६ मिलियन युरो सम्झौता गरेको थियो ।

पछिल्लो समय नाइकीको विश्वव्यापी अभियान ‘यु क्यान्ट स्टप स्पोर्ट’मा सहभागिता नजनाएपछि रुष्ट बनेको नाइकीले नेयमारसँगको सम्झौता नवीकरण नगरेको बताइएको छ ।  नाइकीले नेयमासँग पछिल्लो समय सन् २०११ मा सन् २०२२ सम्मका लागि ७८.६ मिलियन युरोमा सम्झौता नवीकरण गरेको थियो तर समय बाँकी रहँदै सम्झौता रद्द भएपछि कम्पनीमा पनि ठूलो असर पर्ने देखिन्छ ।

नेयमार र नाइकीबीच सम्झौता रद्द भएपछि पिएसजीलाई पनि केही घाटा हुने देखिन्छ । नेयमार सन् २०१७ मा पिएसजी आएयता नाइकीले नै क्लबलाई फुटबल किट उपलब्ध गराउँदै आएको थियो । यो अवधिमा पिएसजीले ७० मिलियन युरो कमाइ गरेको थियो । विभिन्न रिपोर्टका अनुसार यी २८ वर्षीय खेलाडी नाइकीसँगको सम्झौता रद्द भएपछि जर्मन खेल सामग्री उत्पादन कम्पनी पुमासँग सम्झौता गर्ने योजनामा छन् ।

नाइकीले फुटबलका हस्ती क्रिश्चियानो रोनाल्डो, भर्जिल भान डाइक, रहिम स्ट्रलिङ, बास्केटबल खेलाडी लिब्रन जोन्स, टेनिस खेलाडी सेरेना विलियम्स तथा गल्फ खेलाडी टाइगर उडलाई पनि प्रायोजन गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE