पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह

बाँके, ३० मङ्सिर : नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन/चार दिनदेखि धाइरहेकी थिइन् । आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा सुन्निएका थिए, शरीरमा रगतको कमी थियो । उनको अनमी आशा सार्कीबाट जाँच हुँदै थियो ।
परियार दोस्रो पटक सुत्केरी हुन प्रसूति गृह पुगेकी हुन् । उनले १४ वर्षमै पहिलो बच्चा जन्माएको बताइन् । सोही वडामा पर्ने पोद्दारपुरकी रेशमा खटीक (१८) पनि सुत्केरी हुनकै लागि प्रसूति गृह आइपुगिन् । उनका आँखा पहेँलिएका थिए, हातखुट्टा सुन्निएका थिए । अनमी सार्कीसँग ‘जीउ ग¥हुँगो भएर बेथा लाग्छ कि’ भनेर आएको बताउँदै थिइन् ।
प्रसूति कक्षमा बिहानैदेखि परियार पल्टिरहेकी थिइन् । अनमी सार्कीका अनुसार उनको रक्तचाप कम भएका कारण सुत्केरी गराउन ढिलाइ भएको हो । परियारलाई सुत्केरी गराउन नपाउँदै खटीक आइपुगेकी थिइन् । प्रसूति गृहमा शय्या एउटै मात्र भएकाले पालो कुर्नु पर्छ । त्यसो त यहाँ सुत्केरी हुन आउनेको भीड नै लाग्ने गरेको छ ।
उनको उपचारमा संलग्न अनमी सार्कीले माछा, मासु, अण्डा, फलफूल र दूध–दही नखाएकाले शरीरमा आइरन र प्रोटिन कम भएको बताउँदै थिइन् ।
गर्भवती हुँदा नै चक्कर लाग्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने र थोरै हिँड्दा पनि मुटुको धड्कन बढ्ने समस्याले सताए पनि परियार र खटीकले त्यसको कारण थाहा पाउन सकेका थिएनन् । “सुत्केरी हुँदा तागतिला खानेकुरा नपाउने गर्भवती महिला कमजोर र रोगी बन्छन् भन्ने पनि उनीहरुलाई थाहा छै्रन,” अनमी सार्कीले भनिन् ।
स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिकरुपमा अपरिपक्व नै मानिन्छ । विसं २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ तर, यहाँ सुत्केरी हुन परियार र खटीक जस्ता धेरै किशोरीहरु आउने गरेका छन् ।

“गर्भवती भएर आउँदा उमेर सोधेपछि हामीलाई उदेक लाग्छ, धेरैले १३/१४ वर्षमै बिहे गरिसकेका हुन्छन् र १८/१९ वर्ष पुग्दानपुग्दै दुई सन्तानकी आमा बनिसकेका हुन्छन्,” अनमी सार्कीले भनिन् – “कम उमेर भयो भनेर हामीले सुत्केरी गराउँदैनौं भन्न मिल्दैन । बालविवाहले नै यस्तो अवस्था ल्याएपछि हामीले कसरी रोक्नु ?”
त्यस्ता किशोरीलाई यहाँ तीन महिने सूई लगाउन सुझाव दिने गरिएको छ । उनले भने – “तीन महिने सूई लगाउनुस् भनेर हामीले नै सहमत गराउँछौं । धेरैले तीन महिने सूई लगाएका कारण किशोरावस्थामै सुत्केरी हुनबाट रोक्न सकेका छौं । कोही कोही मान्दैनन् । नमान्नेलाई जबर्जस्ती गर्न मिलेन ।”
उक्त वडाका ७० प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका किशोरीहरु छन् जो सुत्केरी हुन यहाँ आउने गरेका छन् । स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्थामा नआउने, घरमै सुत्केरी हुनेको सङ्ख्या खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्मको तथ्याङ्क केलाउँदा सुत्केरी हुन आउने १०५ मध्ये ७२ जना महिला १७–२५ उमेर समूहका छन् र १७–१८ वर्षमै सुत्केरी हुन आउने ६१ जना छन् । यो उमेर समूहलाई किशोरावस्था नै मानिन्छ । त्यसो त १७–१९ वर्ष उमेर समूहका सुत्केरी हुन आउने अधिकाँश किशोरी दोस्रो बच्चा जन्माउन प्रसूति गृहमा पुगेको तथ्याङ्कले देखाउँछ । आव २०७५/७६ मा १७६ जना सुत्केरी भए् । तीमध्ये ६० प्रतिशत किशोरी थिए । यसको कारण हो बालविवाह ।
कम उमेरमा गर्भवती हुँदा गर्भवती र गर्भमा रहेको शिशु दुवैलाई जोखिम हुन्छ । उपमहानगरपालिकाको एउटै वडाभित्र २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेहरुको सङ्ख्या बढेको देखिनु चिन्ताको विषय हो । आमा समूह र बाल क्लबबाट बालविवाह रोक्ने प्रयास भइआए पनि त्यो प्रभावकारी बनेको छैन । नेपालगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउन चाहिने सबै मापदण्ड पूरा भइसकेको दावी गरिरहेकै बेला उपमहानगरभित्रको एउटै वडामा गर्भवती किशोरीको सङ्ख्या भयावह देखिएको छ । बाँकेमा अभिभावकको सहमतिमा हुने बालविवाह न्यून भए पनि भागी विवाह गर्नेको सङ्ख्या अधिक छ । यसको आधिकारिक तथ्याङ्क भने कतै पाइँदैन । आधारभूत तह शिक्षा पूरा गरेर माध्यमिक तहको शिक्षा नजीकै लिन नपाउने स्थितिले बालबालिकाहरु पठनपाठनबाट वञ्चित हुनुपरेको र त्यस्ता बालबालिकामा बालविवाह गर्ने प्रवृत्ति देखिएको छ । बालबालिकामा मोबाइलको प्रयोग बढेसँगै बालविवाह र कम उमेरमै गर्भधारण हुने गरेकोे सार्कीको ठम्याइ छ ।
बालविवाहमाथि कानूनले प्रतिवन्ध लगाए पनि कतिपय समुदायमा १०/११ वर्षमै छोरीको बिहे गरिदिने संस्कारले जरो गाडेका कारण पनि कम उमेरमै विवाह गर्नेको सङ्ख्या घट्न सकेको छैन । बालविशेषज्ञ डा रोमा बोराले कम उमेरका गर्भवतीबाट जन्मिएका शिशुहरूको तौल र उनीहरूको स्वास्थ्यसमेत जोखिमयुक्त रहने बताइन् । लाजका कारण घरमै सुत्केरी हुने गर्भवती किशोरीहरुको स्वास्थ्य थप जोखिमयुक्त हुन्छ ।
“बालविवाहका नकारात्मक असरबारे चेतना फैलाउने कार्यमा सबै पक्षबाट सक्रियता बढाउनुपर्ने आवश्यकता छ,” डा बोराले भनिन् – “उमेर नपुगेका किशोरीबाट जन्मिएका शिशुको तौल कम हुने गरेको छ । सामान्य अवस्थाका शिशुको तौल साढे दुई किलोभन्दा माथि हुनैपर्छ ।”
अनमी सार्कीका अनुसार उपकरणको अभाव भएकाले जटिल खालका र सुत्केरी गराउन नसक्ने गर्भवतीलाई भेरी अस्पताल पठाउने गरिएको छ । शरीरमा कुपोषण हुँदा, रगत र आइरनको कमी हुँदा, जुका पर्दा र वंशानुगत कारणले हेमोग्लोबिनको मात्रा कम भएर रक्त अल्पता हुने गर्छ । शरीरमा रगत कम हुँदा अक्सिजन प्रवाह कम हुन्छ र त्यसले थकान र कमजोरी बढाएर श्वासप्रश्वासको गति र मुटुको धड्कन बढाउँछ । फलतः डर लाग्ने, मन आत्तिने तथा आँखा र नङ सेतो हुुने लक्षण देखापर्छ ।
पुरुषमा भन्दा गर्भवती र सुत्केरी महिलामा बढी देखिने यस्ता समस्या उमेर नपुग्दै विवाह गर्ने र अनिच्छित गर्भ तुहाउने महिलामा अझ बढी हुने गरेको सम्बद्ध डाक्टरहरुको भनाइ छ । धेरै महिलालाई भिटामिन र आइरन पाइने पोषणयुक्त खानाबारे जानकारी नहुनु र त्यस्ता खानामा पहुँच नहुनु रक्त अल्पताको अरु कारण हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE