पत्नीले पतिमाथि खन्याइन् उम्लेको पानी

भारतको मुम्बईमा पतिपत्नीबीच सानो कुरामा विवाद हुँदा पत्नीले पतिमाथि उम्लेको पानी खन्याएकी छन् ।

पति लिभिङ रूममै सुतेका थिए भने पत्नीले उनलाई बेडरूममा आएर सुत्न भनेकी थिइन् । दुवैजनाले यस विषयमा झगडा गरेपछि रिसको सुरमा पत्नीले पतिमाथि तातोपानी खन्याइन् ।

पतिको छाला खुइलिएपछि अस्पताल भर्ना गर्नुपरेको थियो । अस्पतालबाट निस्केपछि उनले पत्नीविरुद्ध उजुरी दर्ता गरे ।

एए दलवी र उनकी पत्नी शाइनाजबीच ससाना कुरामा झगडा हुने गरेको थियो । शाइनाजले नै झगडा आरम्भ गर्ने गरेको दलवीको गुनासो छ । उनको व्यवहारका कारण छोरोले केही दिनअघि घर छोडेर गएको पनि दलवीले प्रहरीलाई बताए ।

अघिल्लो बिहीवार आफ्नो फ्ल्याटको लिभिङ रूममा सुत्दा पत्नीले चिच्याएर बेडरूममा सुत्न भनेको तर आफूले अटेरी गरेको दलवीले बताए ।

‘धेरै नचिच्याऊ, म सुत्छु’ भनी दलवी सुते अनि त्यो सुनेर क्रोधित भएकी शाइनाजले भान्साबाट तातोपानी ल्याएर पतिमाथि खन्याइन् ।

दलवीको छाती, गला र हात डढेको छ । उनलाई डा बाबासाहेब अम्बेडकर अस्पताल लगिएको र प्राथमिक उपचारपछि कूपर अस्पताल पठाइएको थियो । त्यहाँ तीन दिनसम्म उपचार गराएर निस्केपछि उनले पत्नीविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।

प्रहरीले शाइनाजविरुद्ध उजुरी दर्ता गरेको छ तर पक्राउ गरिसकेको छैन । सोधपुछ चलिरहेको प्रहरीको भनाइ छ ।  एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE