पर्यटक भित्र्याउने योजनामा तीन नगरपालिका

सिन्धुपाल्चोक- भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर सिन्धुपालचोकका तीन नगरपालिकाले महत्वाकांक्षी योजना घोषणा गरेका छ ।

दीर्घकालीन रुपमा पर्यटन प्रवर्द्धनका लागि तीन नगरपालिकाले ठूलो लगानी गर्ने योजना अघि सारेको हो ।

जिल्लाको केन्द्र भागमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले भ्रमण वर्षलाई समेत लक्षित गरी तीन करोड विनियोजन गरेको छ । नगर प्रमुख अमानसिंह तामाङले प्रत्येक वर्ष नगरपालिकामा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।

नगरपालिकाको पश्चिम मोडमा पर्ने दारेगौंडामा शिव र बुद्धको ठूला मूर्ति बनाउन रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए ।

हाइवेबाट दारेगौंडासम्म पुग्ने ६०० मिटरको आकर्षक सिँढीबाट मूर्ति भएको स्थानमा पुग्न सकिन्छ । मूर्ति र सिँढी निर्माणको काम केही दिनमै शुरु गरिँदैछ । भ्रमण वर्ष सफल पार्न पर्यटन व्यवसायी र नगरपालिकाको संयुक्त लगानीमा आगामी फागुन १ देखि ७ गतेसम्म सुकुटे महोत्सव गरिँदै छ । महोत्सवमा आएका पर्यटकलाई ओखरेनी लेकको चियाबगान र स्याउलेको चमेरो गुफासम्म पुर्‍याउने योजना बनाइएको छ ।

सुनकोशी नदीको किनार सुकुटेबाट लेकाली चियाबगान ओखरेनीसम्म पुर्‍याउन पर्यटन पूर्वाधारका काम शुरूआत गरेको छ ।

राजधानी काठमाडौंसँग जोडिएको मेलम्ची नगरपालिकाले पर्यटन प्रवर्द्धन लागि एक करोड बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख डम्बर अर्यालका अनुसार दुईवटा पदमार्ग, घरवास, सडक र धार्मिक क्षेत्रको पूर्वाधार निर्माणमा रकम खर्च गरिने छ । पर्यटकलाई ‘प्याकेज टुर’ गराउन १०१ र २०१ नम्बरबाट नामकरण गरी पदमार्ग निर्माणको काम शुरू गरिएको उनले बताए ।

भोटेचौरदेखि चिसापानी हुँदै मेलम्चीसम्मको पदमार्गलाई १०१ र मेलम्चीदेखि गुफाडाँडासम्मलाई २०१ नामकरण गरिएको हो । पदमार्ग लामोलामो भएकाले बीचबीचमा वास बस्न घरवासको अवधारणा ल्याइएको छ ।

कोदारी राजमार्गसँग जोडिएको बाह्रबिसे नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । वडा नं ६ मा रहेको भयौलीकुण्डलाई व्यवस्थित बनाउन प्रदेश नं ३ सरकारले दिएको रकमसमेत गरी नगरपालिकाले ४५ लाख बजेट छुट्याएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE