पिरामिड शैलीमा ‘क्राउडवान’ नामको नेटवर्किङ व्यवसायद्वारा ३ अर्ब ठगी

शैक्षिक प्याकेजका नाममा पिरामिड शैलीको नेटवर्किङमार्फत ठगी, २ लाख नेपाली सदस्य बनिसकेको अनुमान, तर नियामक बेखबर

गैरकानुनी रूपमा पिरामिड शैलीको पोन्जी स्किम चलाएको भन्दै संसारका विभिन्न मुलुकमा प्रतिबन्धित ‘क्राउडवान’ नामको नेटवर्किङ व्यवसायले नेपाली जनताको करिब ३ अर्ब रुपैयाँ ठगी गरिसकेको अनुमान गरिएको छ । शैक्षिक प्याकेज बिक्री गर्ने भन्दै गैरकानुनी कारोबारमा संलग्न क्राउडवान (सिवान) मा हालसम्म करिब २ लाख नेपाली आबद्ध भइसकेको अनुमान गरिन्छ । नेटवर्क मार्केटिङमा आबद्धहरू विदेशमा बसेर नेपालमा क्राउडवानको सञ्जाल चलाइरहेका छन् 
क्राउडवानले आकर्षक प्रतिफलको लोभ देखाएर चार फरक–फरक प्याकेज बिक्री गरिरहेको छ । प्रतिव्यक्ति न्यूनतम ९९ युरो (करिब १४ हजार रुपैयाँ) देखि २ हजार ४ सय ९९ युरो (करिब साढे ३ लाख रुपैयाँ) सम्म उठाएर क्राउडवानको सदस्य बनाउने र उनीहरूलाई नेटवर्क मार्केटिङमा लगाउने गरिँदै आएको छ । प्याकेज खरिद गर्नेहरूले आफूभन्दा मुनि समूहमा नयाँ सदस्य प्रवेश गराएपछि त्यसबापत आम्दानी हुने प्रणाली विकास गराइएको छ । यस्ता सदस्यहरूले प्रतिव्यक्ति ९९ युरोका हिसाबले कम्तीमा पनि २ अर्ब ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् । ‘अहिले नेपालभित्रैबाट २ लाख मानिसहरू हामीसँग आबद्ध भइसक्नुभएको छ,’ क्राउडवान कार्यक्रमका डाइरेक्टर तहमा पुगेका मानिने नेपाली राकेश निरौलाले भने ।

तालिमको आवरणमा ‘पोन्जी स्क्याम’

व्यक्तित्व विकासको शैक्षिक प्याकेज बिक्री गर्ने आवरणमा उनीहरूले पिरामिड शैलीको पोन्जी स्क्याम सञ्चालन गरिरहेका छन् । यसमा सदस्य थपिँदै जाँदा पिरामिडको माथिल्लो तहमा भएकाको समेत प्रतिफल बढ्दै जान्छ । सिवानमा प्रवेश गर्नेले सदस्य बन्न शैक्षिक प्याकेज खरिद गर्नैपर्छ । यस्ता प्याकेज लिएकाहरूलाई हरेक आइतबार जुम एपमार्फत तालिम दिइन्छ । यसमा व्यक्तित्व विकास, नेटवर्किङ मार्केटिङलगायतका विषय रहन्छन् । ‘पिटर ज्याकोबसन’जस्ता चर्चित व्यक्ति प्रशिक्षक रहने भए पनि शैक्षिक प्याकेजको शुल्क सदस्यहरूलाई निकै लिने गरेको निरौलाको भनाइ छ । ‘कसैले घरजग्गा बेचेर पैसा हाल्नुपर्ने होइन, १३–१४ हजार लगानीले कुनै व्यवसाय गर्न सकिन्छ र ?’ उनी प्रतिप्रश्न गर्दै भन्छन्, ‘कम्पनीले व्यक्तिगत रूपमा एकाउन्ट बनाउने, वेबसाइट बनाउने गरिरहेको हुन्छ, त्यसका लागि खर्च त लाग्छ नै ।’

कसरी हुन्छ ठगी ?

सिवानमा ह्वाइट, ब्ल्याक, गोल्ड र टाइटानियम चारवटा प्याकेज छन् । ह्वाइट प्याकेजको ९९ युरो (करिब १४ हजार रुपैयाँ), ब्ल्याकको २ सय ९९ युरो (करिब साढे ४१ हजार), गोल्डको ७ सय ९९ युरो (करिब १ लाख १० हजार रुपैयाँ) र टाइटानियमको २ हजार ४ सय ९९ युरो (करिब साढे ३ लाख रुपैयाँ) शुल्क छ । आफूले जुन प्याकेज लिए पनि आफूमार्फत बन्ने सदस्यले इच्छा लागेको प्याकेज लिन सक्छन् । आफ्नो इच्छाअनुसार प्याकेज लिएपछि दर्ताका लागि एउटा कोड आउँछ । यस्तो कोड आफूलाई साथी बनाउनेले नै दिने भर्खरै मात्र ‘सिवान’ सुरु गरेका भक्तपुरका विशाल खनालले जानकारी दिए । उनले भने, ‘आफूले पनि मान्छे थप्दै गयो भने अंक बढ्दै जान्छ, त्यसलाई १० ले भाग गर्दा हुने अंकबराबरको युरो कमाइ हुन्छ ।’

कसैले ह्वाइट प्याकेज लिएको छ भने उसले १४ दिनभित्र कम्तीमा दुईदेखि चार सदस्य थप्नुपर्छ । त्यो पनि दायाँबायाँ पिरामिड शैलीमा । सदस्यहरूलाई पिरामिड शैलीमा सुरुमा प्रवेश गर्ने स्टार्टर, टिम लिडर, कोर्डिनेटर, म्यानेजर, डाइरेक्टरलगायत प्रेसिडेन्ट र एम्बेस्डरसम्मको तह हुन्छ । सदस्यहरूलाई कामअनुसार २१ वटा पोलमा विभाजन गरिएको हुन्छ । थपिएका सदस्यहरूको १४ दिन सकिएपछि फेर लस बोनसका रूपमा १ सय २५ युरो आउँछ ।

‘सदस्य बनाएबापत पाउने लाभ बिट क्वाइनमा वा पैसाकै रूपमा समेत लिन पाइन्छ,’ कवि शाहीले भने, ‘तर, हरेक बुधबार दाबी भने गरिरहनुपर्छ ।’ यस्तो प्याकेज बेच्दा हुने भुक्तानी नेपालभित्रकै बैंक, इ–वालेट, फोन पेलगायतबाट हुने गरेको प्रयोगकर्ताहरू बताउँछन् । नेटवर्कमा जोडिन के गर्नुपर्छ भन्ने जिज्ञासा राख्दा अस्ट्रेलियामा रहेका निरौलाले सन्राइज बैंकको काँकडभिट्टा शाखाको नम्बर उपलब्ध गराए । उनले मेसेन्जरमार्फत बैंक एकाउन्ट नम्बर दिँदै भने, ‘यसमा डिपोजिट गरेर पैसा जम्मा गरेको रसिद वा मोबाइल बैंकिङबाट गरेको भए स्क्रिन सट पठाउनुस्, म तपाईंलाई कोड पठाइदिनेछु ।’

नेपालमा अधिकांश प्रयोगकर्ताले यही माध्यमको प्रयोग गर्छन् । ‘सदस्य थप्ने व्यक्तिले साथीबाट प्याकेजअनुसारको भुक्तानी पाउँछ,’ भक्तपुरमै क्याफे चलाइरहेका कवि शाही भन्छन् । सदस्यहरूको पहिचानका लागि अनुहारको बायोमेट्रिक, पासपोर्ट नम्बरहरूसमेत राखिने शाही बताउँछन् ।

सदस्य थप्न नसके पनि न्यूनतम प्याकेज लिएर सदस्य भएको व्यक्तिको खातामा हरेक साता दुई युरो जम्मा हुने प्रयोगकर्ताहरू बताउँछन् । ‘प्रयोगकर्ताको मोबाइलमा क्राउडवानको एप अनिवार्य रूपमा इन्स्टल गर्नुपर्ने र त्यसका माध्यमबाट क्रिप्टोकरेन्सी माइनिङ हुँदाको रकम यसरी प्राप्त भएको हो,’ शाहीले भने । हरेक दिन क्राउडवान एप खोल्नैपर्छ । यसरी खोल्दा क्रिप्टोकरेन्सी माइनिङ हुँदै जान्छ । ह्वाइटदेखि टाइटानियमको प्याकेजसम्ममा सदस्यले १ सयदेखि ३ हजारसम्म अंकको ओनरसिप पाउँछ । यो अंक क्रिप्टोकरेन्सीका रूपमा परिवर्तनसमेत हुन्छ ।

संसारभर प्रतिबन्धित

स्विडेनमा रहेको भनिएको कम्पनीको वेबसाइटमा भने ठेगाना संयुक्त अरब इमिरेट्सको दुबईमा उल्लेख छ । हाल जोन स्टेल भन होलस्टिन क्राउडवानको प्यारेन्ट कम्पनी इम्प्याक्ट क्राउड टेक्नोलोजीमा प्रमुख कार्यकारी अधिकृत छन् । विश्वभरका १ करोड २० लाख मानिस यसमा आबद्ध भएको नेपाली सदस्यहरूको दाबी छ । तर, संसारभरका सरकारहरूले क्राउडवानलाई ठगी भएको भन्दै प्रतिबन्ध लगाइरहेका छन् ।

न्युजिल्यान्डको वित्तीय क्षेत्रको नियामक फाइनान्सियल मार्केट अथोरिटीले यसलाई गठी भन्दै लगानी गर्न नहुने सूचीमा राखेको छ । पूर्वी र दक्षिण अफ्रिकाका लागि कमन मार्केट (कोमेसा) ले क्राउडवान स्किमले ठगी गरिरहेको भन्दै सचेत हुन भनेको छ । दक्षिण अफ्रिकाको फाइनान्सियल एडभाइजरी एन्ड इन्टरमिडिएटरी सर्भिसले गत जुनमा क्राउडवान ठगी भएको भन्दै वक्तव्य जारी गरेको छ ।

केन्याको केन्द्रीय बैंक, क्यापिटल मार्केट अथोरिटी, सेक्को सोसाइटिज रेगुलेटरी अथोरिटिज, रिटाइरमेन्ट बेनिफिट अथोरिटिजले त्यहाँका सर्वसाधारणलाई ठगिनबाट जोगिन सचेत गराएको थियो । नामिबियाको केन्द्रीय बैंकले समेत यसलाई प्रतिबन्ध लगाएको छ । कसैले यसलाई प्रवद्र्धन गरेमा १० लाख रेन्ड (दक्षिण अफ्रिकी मुद्रा) वा १० वर्षको सजाय हुनेसमेत बैंकले बताएको छ ।

फिलिपिन्सको दी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले क्राउडवान एसिया प्यासिफिक इन्कलाई सधैँका लागि रोक्का गरेको मनिला बुलेटिनले समेत दुई महिनाअघि समाचार लेखेको छ । डिजिटल मार्केटिङ बिजनेसको आवरणमा पोन्जी स्किम चलाइरहेको भन्दै रोकिएको हो ।

नेपालमा नियामक बेखबर

क्राउडवानले मुलुकबाट करिब ३ अर्ब रुपैयाँ ठगी गरिसकेको भए पनि नियामक निकायहरू बेखबर छन् । ‘नेटवर्क मार्केटिङ वा क्रिप्टोकरेन्सको कारोबार मुलुकमा अवैधानिक भए पनि क्राउडवानकै सन्दर्भमा भने हामीले अध्ययन गरेका छैनौँ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले भने । ‘अहिलेसम्म क्राउडवानबारे कुनै उजुरी आएको छैन,’ वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘पिरामिड शैलीमा नेटवर्किङमा चलेको पाइएमा यो गैरकानुनी हो, कुनै पक्षले उजुर गर्न आएमा हामी त्यसको सुनवाइ गर्छौँ ।’ क्राउडवानका नाममा पनि नेटवर्किङ भइरहेको उजुरी आएको र त्यस विषयमा अध्ययन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका नायब महानिरीक्षक सहकुल थापाले बताए । ‘पिरामिड शैलीको नेटवर्किङ भइरहेको पाइएमा त्यहीअनुसार कारबाही अगाडि बढाउँछौँ,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE