पि.एस.जी.का प्रशिक्षक पोचेटिन्हो भन्छन्:- “मेसीका लागि क्लबको ढोका खुला छ।”

पेरिस सेन्ट जर्मन (पि.एस.जी.)का मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होले लियोनल मेसीका लागि क्लबको ढोका खुला रहेको बताएका छन् । मेसीबारे सोधिएको प्रश्नमा पोचेहिन्होले भनेका छन्, ‘हामी हल्लालाई एक ठाउँ छाडौं । सबै महान् खेलाडीहरुलाई पिएसजीमा स्वागत छ ।’

फ्रान्सेली लिग च्याम्पियन पिएसजीले थोमस टुुचेलको बर्खास्तीपछि पोचेटिन्होलाई नियुुक्त गरेको हो । टुचेलको प्रशिक्षणमा गत सिजन पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको थियो ।

त्यसैले, टोट्टेनह्यामका पूर्व प्रशिक्षक पोचेटिन्होलाई घरेलु लिगसँगै च्याम्पियन्स लिगको उपाधि जिताउने लक्ष्यसाथ जिम्मेवारी दिइएको छ । पिएसजीमा नेइमार, कालियन एमबाप्पे र एन्जल डि मारियजस्ता अग्रपंक्तीका निकै उत्कृष्ट खेलाडीहरु छन् ।

तर, पनि पिएसजीले मेसीमाथि नजर लगाउन छाडेको छैन । बार्सिलोनासँग मेसीको सम्झौता आगामी जुनमा सकिदैंछ । त्यसपछि उनी निशुल्क रुपमा चाहेको क्लबमा जान सक्नेछन् ।

सम्झौता सकिन ६ महिना अवधिमात्रै बाँकी भएकाले नियमअनुसार अन्य क्लबमा स्थानान्तरण हुनका लागि वार्ता प्रक्रिया अघि बढाउन पनि मेसी स्वतन्त्र छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE