पीडामय बन्यो भगवतीको दैनिकी

घरमा तीन जना अशक्त छन्, आम्दानीको कुनै बाटो छैन, सहारा केवल पीडा मात्रै बनेको छ, रामपुर नगरपालिका–७ की भगवती पाठकको । हाम्रो समाजमा एउटा भनाइ छ ‘दैव नलागोस् तर शत्रु लागोस्’, तर भगवतीका लागि यो भनाइ पनि सार्थक हुन सकेन । भगवतीको परिवारमा एक छोरी र तीन छोरामध्ये जेठो छोरा शारीरिकरूपमा अशक्त हुनुहुन्छ भने माइला छोरा शारीरिक तथा मानसिकरूपमा पूर्ण अशक्त हुनुहुन्छ । श्रीमान् पनि १५ वर्षदेखि आँखा नदेख्ने समस्यामा हुनुहुन्छ ।

पाठकका २९ वर्षका माइला छोरा यादव जन्मेको डेढ महिनादेखि शारीरिक तथा मानसिकरूपमा पूर्ण अशक्त हुन पुग्नुभयो । मेनेन्जाइटिस नामक रोग लागेपछि उपचारका लागि पाल्पा मिशन अस्पताल लगियो । आर्थिक अभावमा रोग निको गराउन नसकिएपछि जीवनभर पूर्णरूपमा अपाङ्ग बन्नुपर्यो । जन्मेदेखि नै उहाँको ओछ्यानकै बास छ । दुवै हातखुट्टाले राम्रोसँग काम गर्दैन । खाना खुवाउने, दिसा पिसा गराउने, सुताउने उठाउने सबै अर्काको सहारामा हुन्छ । सिधा उभिन सक्ने अवस्था छैन ।

माइलो छोराको स्याहारसुसारले पालो नपाउने भगवतीका जीवनमा फेरि अर्को समस्या थपियो । आफूलाई सहारा दिने जीवनसाथी श्रीमान् यमकान्त पाठकको आँखामा समस्या आएपछि उहाँले पनि अहिले भगवतीकै सहारामा बाँच्नु परेको छ ।

माइलो छोरा र श्रीमान्को पीडा छँदै थियो फेरि भगवतीको जीवनमा अर्को अकल्पनीय बज्रपात आइलाग्यो । उहाँको परिवारको एउटै आशा भरोसा ३५ वर्षका जेठा छोरा लालप्रसाद आफूले बनाइदिएको घरको छतमा पानी ट्याङ्की सफा गर्ने क्रममा दुई तलामाथिबाट खसेर मेरुदण्ड नै भाँचियो । लालप्रसादले गाउँघरमा घर तथा भवन निर्माणमा मजदूरी गर्दै आउनुभएको थियो । सोही क्रममा दुई वर्ष अघि गाउँकै एक घरमा काम गर्ने क्रममा दुई तला माथिबाट खसेर उहाँको मेरुदण्ड भाँचिएपछि पाल्पा, पोखरा र काठमाडौँमा उपचार गराउनुभयो ।

उपचारमा करिब रु १२ लाख रकम खर्चनुभयो । उपचार गर्ने क्रममा आर्थिक अभाव परेपछि बीचमै उपचार नगरी आँखाभरि आँशु बोकेर घर फर्कनुप¥यो । “घरमा कमाएर दिने कोही छैनन्, ऋणधन गरेर उपचार गर्दा आर्थिक समस्या परेपछि उपचार पूरा गर्न नपाई घर ल्याउन बाध्य भयौँ”, आमा भगवतीले भन्नुभयो । घरमा तीन जना अपाङ्गको एक्लै स्याहारसुसार, मेलापात घाँस दाउरा, खेतीपाती गरेर मनभरि पीडा लिएर बाँच्नु आफ्नो दैनिकीजस्तै बनेको उहाँले भावुक हुँदै सुनाउनुभयो । “मेरो जीवनमा पीडामाथि पीडा थपिएको छ, सुखका दिन कहिल्यै आएनन्, सधैँ जीवन कष्टसँग बित्नेभयो”, उहाँले गुनासो गर्नुुभयो ।

भाइ र बुबाको स्याहारसुसार, रेखदेख, औषधि उपचारका लागि गाउँघरमा लालप्रसादले घर तथा भवन निर्माणको क्षेत्रमा मजदूरी गर्नुहुन्थ्यो । परिवार खुशी बनाउने र पीडामा रहेकी आमालाई सान्त्वना दिने एक सहाराका रूपमा लालप्रसाद हुनुहुन्थ्यो, तर परिवारलाई मजदूरी गरेर भए पनि सुखसँग पाल्ने सपना जीवनभर सपनामा मात्र सीमित बन्न पुग्यो । जीवनमा सोच्दै नसोचेको घटना घटेको र परिवारमा पीडामाथि पीडा थपिएको लालप्रसाद बताउनुहुन्छ ।

“आमालाई मैले सहारा दिनुपर्ने ठाउँमा भर्खरको उमेरमा अपाङ्ग भएर बाँच्नुको पीडा जतिको जिन्दगीको दुःख केही रहेनछ, आमाले एक्लो ज्यानले तीन जनाको स्याहारसुसार, घरायसी काम, मेलापात गर्न भ्याउनुभएको छ”, उहाँले भन्नुभयो । परिवारको आयस्रोत नहुँदा जीवनभर अर्काको सहारामा बाँच्नु परेको र कतैबाट सहयोग भएमा अझै पनि उपचार हुने आशा रहेको उहाँले बताउनुभयो ।

युएईस्थित नेपाली युवाले रकम सङ्कलन गरी उहाँको उपचारमा रु दुई लाख एक हजार रकम हालै सहयोग गरेका छन् । लालप्रसाद र उहाँको परिवारको अवस्था देखेर औषधि उपचार तथा लालनपालनमा सहज होस् भनी थोरै भए पनि वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकबाट रकम उठाएर सहयोग गरेको केशव रेग्मी बताउनुहुन्छ ।

त्यस्तै पाठक परिवारलाई रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले एक महिनाको आफ्नो तलब र अन्य रकम गरेर रु ५५ हजार रकम सहयोग गरिसक्नुभएको छ । उई लभ पिपुल नामक संस्थामार्फत रु ३० हजार र अन्य विभिन्न सङ्घ संस्था र व्यक्तिबाट करिब ५८ हजार जति रकम सहयोग प्राप्त भइसकेको परिवारले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE