‘प्याङ्ग्री’ झारले रैथाने वनस्पति सङ्कटमा

स्थानीय बोलीचालीमा ‘प्याङ्ग्री’ भनेर चिनिने मिचाहा झारको एक प्रजाति ‘माइकेनिया माइक्रान्था’ झापामा अनियन्त्रित रुपमा फैलिइरहेको छ । यसको फैलिँदो अवस्थाका कारण रैथाने वनस्पति सङ्कटमा परेका छन् ।
प्याङ्ग्री झारले खाली रहेका अधिकाँश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे बताउनुहुन्छ । भुईँ, पर्खाल र रुख जताततै लहरिन सक्ने विशेषता भएको यो झार खेतबारी, सडक र वन क्षेत्रमा अनियन्त्रित रुपमा मौलाइरहेको छ ।
यसले रैथाने वनस्पतिलाई हुर्किन नदिने भएकाले नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर फरेस्ट एक्सन नेपाल नामक गैरसरकारी संस्थाले झापाको हल्दिबारी क्षेत्रमा अनुसन्धान शुरु गरेको छ ।
फरेस्ट एक्सनले सो झारलाई प्राङ्गारिक मल बनाउन सकिनेतर्फ स्थानीयवासीलाई उत्प्रेरित गरिरहेको संस्थाकी फिल्ड कर्मचारी देविका अधिकारीले बताउनुभयो ।
खाली जग्गा भेटेपछि केही वर्षमै फैलिएर अरु वनस्पतिलाई प्याङ्ग्री झारले मास्ने भएकाले यसकै कारण प्राकृतिक जङ्गलका कैयन रैथाने जडीबुटी र बोटबिरुवा लोप हुने अवस्थामा पुगेको डिभिजन वन कार्यालय झापाका प्रमुख घिमिरेले बताउनुभयो ।
वन क्षेत्र, सडक किनारका बिजुलीका खम्बा, सदरमुकाम भद्रपुरस्थित सरकारी कार्यालयका जग्गा र खोला किनारका खाली जग्गामा प्याङ्ग्री झार अत्यधिक मात्रामा फैलिइरहेको पाइएको छ । घिमिरेका अनुसार यो झार ठुस्स गनाउने भएकाले गाईवस्तुले समेत खान रुचाउँदैनन् । यसको उम्रिने र फैलिने दर अरु वनस्पतिभन्दा ज्यादा हुन्छ ।
शहर, गाउँ, सिमसार, खोल्साखोल्सी र जङ्गल जहाँ पनि यो झार आफैं उम्रिने र छिटो फैलिने गरेको छ । झापाको सबैभन्दा ठूलो जङ्गल रहेको जलथलको खाली ठाउँ प्याङ्ग्री झारले ढाकिँदै गएको स्थानीय पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दिबारीका अध्यक्ष चिरञ्जीवी पौडेल बताउनुहुन्छ ।
उहाँका अनुसार सामुदायिक वनले जङ्गलभित्रको खाली ठाउँमा फैलिइरहेको प्याङ्ग्री झारलाई उखेलेर वृक्षरोपण गर्ने अभियान शुरु गरेको छ । केही नगरी खाली ठाउँ छाड्दा यस झारले ढाक्ने चेतावनी विज्ञहरुले दिएको हुँदा वृक्षरोपण थालिएको उहाँको भनाइ छ । प्याङ्ग्री झार फडानीका लागि सामुदायिक वनलाई फरेस्ट एक्सन नेपालले रु. ५० हजार सहयोग गरिसकेको छ ।
“ठूला रुखहरुमा पनि लहरिएर चढ्न थालिसकेको छ,” सामुदायिक वनका अध्यक्ष पौडेलले रासससँग भन्नुभयो – “भर्खर उम्रिएका बिरुवाहरु त यसले छोपेर मासिसकेको छ ।”
झापाको जलथल जङ्गल नेपालकै एक मात्र यस्तो वन क्षेत्र हो जहाँ पहाडमा मात्र पाइने बोटबिरुवा र जीवजन्तु समेत पाइन्छ । स्थानीय वयोवृद्ध वीरबहादुर गिरीका अनुसार जलथल जङ्गलमा पहाडमा मात्र पाइने पात्ले कटुस र चिलाउनेको रुख पाइएको छ । पहाडमा हुने दुम्सी समेत यहाँ पाइन्छ ।
जलथलमा वन सुन्तला, कुसुम, बाँदरझुला, ढेडुझुला, खनिउ, जामुना, केमुना, कटहर, आँप, लटहर, फडिर, हर्रो, बर्रो, अमला लगायतका दर्जनौं फलफूल पाइन्छ । हात्ती, अजिङ्गर, मृग, हरिण, बँदेल, मयूर, सालक, कछुवा, गोहोरो, ठोटरी लगायतका जीव यहाँ पाइन्छन् ।
“माइकेनियाको साम्राज्य फैलिँदै गयो भने जैविक विविधतामा असर पर्ने हो कि भन्ने चिन्ता बढेको छ,” त्रिभुवन विश्वविद्यालयका जीव विज्ञान उपप्राध्यापक रामचन्द्र अधिकारी भन्नुहुन्छ – “झापा मात्र होइन, यसले नेपालको पूरै तराई भू–भागमा प्रभाव जमाइसकेको छ ।”
उपप्राध्यापक अधिकारीका अनुसार उष्णप्रदेशीय भू–भागमा फस्टाउने यो झार धेरै वर्ष अघि अमेरिकाबाट नेपाल भित्रिएको विश्वास गरिन्छ । यसलाई विभिन्न मुलुकमा ‘एलियन’ झार पनि भनिन्छ । अमेरिकामा ५ मिटरभन्दा लामो नहुने यो झार नेपालको हावापानी अनुकूल भएर ३० मिटरसम्म लहरिने गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार माइकेनिया झारले एक प्रकारको विषादीजन्य तरल रसायन उत्पादन गर्ने भएको हुँदा यसको नजीक अरु बोटबिरुवा फस्टाउँदैनन् । यसले लहरिएर ठूला रुखलाई समेत विस्तारै मास्न सक्छ ।
चितवन राष्ट्रिय निकुञ्जको करीव २० प्रतिशत भागमा यो झारको अतिक्रमण भइसकेको ठानिएको छ भने तराईका चारकोशे वनहरुमा यसको फैलँदो दर अकल्पनीय रहेको छ । अधिकारीका अनुसार हुर्किएको माइकेनिया झार एक दिनमा ९० मिलिमिटरसम्म बढ्ने गर्दछ ।
वन क्षेत्रमा प्रभुत्व जमाइरहेको यो झार विश्वभर समस्याको रुपमा देखा परिरहेको भए तापनि यसबाट औषधि बनाउन सकिने विषयमा विभिन्न अनुसन्धानहरु हुन थालेको उहाँको भनाइ छ । सर्पदंश र विच्छीदंशको औषधि माइकेनिया झारबाट बनाउन सकिने अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE