प्रचण्डलाई ‘काउण्टर’ दिन सक्ने पात्रको खोजी शुरु, प्रधानमन्त्री ओलीको ‘ग्रीन सिग्‍नल’ पाण्डेलाई

kp woli and prachanda

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्ने अवस्था नभएमा नेकपाभित्र प्रचण्डलाई ‘काउण्टर’ दिन सक्ने पात्रको खोजी शुरु गरेको र केही व्यक्तिमा नजर लगाएको खबर सार्वजनिक भएको छ ।

हाल सत्तारुढ दल नेकपा आन्तरिक विवादको भूमरीमा फसेको छ । प्रधानमन्त्री ओली र प्रचण्ड–माधव गरी दुई समूह नेकपामा देखिनेगरी सक्रिय भएपनि झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्‍ठका पनि गुट अस्तित्वमा छन् । यद्यपि हाल चुलिदैँ गएको विवादले पार्टी विभाजन हुने अवस्था आएमा चाहिँ प्रचण्डसँगै नेपाल, खनाल, थापा र श्रेष्‍ठ गुट एकै ठाउँमा उभिने पक्का छ ।

यतिबेला पार्टी फुट्ने र जुट्ने सँगै अर्को हल्ला पनि नेकपा भित्र चल्न थालेको छ । त्यो भनेको अध्यक्ष प्रचण्डलाई काउन्टर दिनसक्ने व्यक्तिको खोजी । चितवनलाई स्थायीरुपमा राजनितीक थलो बनाउन लागेका प्रचण्डलाई यसै क्षेत्रमा काउन्टर दिने नेताको खोजी भएको स्रोतको दाबी छ । त्यसका लागि राप्रपाका पूर्व उपाध्यक्ष तथा निर्माण व्यवसायी विक्रम पाण्डे उपयुक्त पात्र हुनसक्ने ओली निकट नेताहरुको बुझाई छ । यस क्षेत्रमा गएको निर्वाचनमा ४८ हजार मत ल्याएर विजयी भएका प्रचण्डको मुख्य प्रतिष्पर्धी पाण्डे नै थिए । उनले ३८ हजार भन्दा बढी मत पाएका थिए । यस भन्दा अगाडि पाण्डे नै यस क्षेत्रको सांसद थिए ।

हाल राप्रपामा आफ्नो सम्मानजनक पोजिसन नभएको गुनासो गर्दै आएका र चुनाव चिन्ह हलो हुनुपर्ने अडानमा रहेका पाण्डेले राप्रपा छाड्न सक्ने चर्चा राप्रपाभित्रै सुरु भएको छ । केहिदिन अघि बसेको राप्रपा बैठकमा पाण्डेले पार्टी छाडेर नेकपा प्रवेश गर्न लागेको र बालुवाटार निकट भएर महत्वपूर्ण पद लिन खोजेको चर्चा भएको थियो ।

पाण्डे पशुपति शमशेर जबराले नेतृत्व गरेको राप्रपाको उपाध्यक्ष थिए । हाल कमल थापा, पशुपति शमशेर र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको ३ वटा राप्रपा बिच पार्टी एकता भएपछी पाण्डे पार्टीमा धेरै सक्रिय छैनन् ।

त्यसो त राप्रपाका संस्थापक नेता सुर्यबहादुर थापाका छोरा एवं पार्टीका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिल थापा काँग्रेस प्रवेश गरिसकेका छन् । त्यसभन्दा अगाडि राप्रपाका पुर्व कोषाध्यक्ष कास्कीका नेता सुर्यबहादुर केसी पनि काँग्रेस प्रवेश गरी समानुपातिक सांसद बनिसकेका छन् ।

यद्यपि राप्रपा नेता पाण्डेले भने आफुले पार्टी छाड्ने कुरा आफ्नै सहकर्मीले चलाएको हल्ला मात्रै भएको टिप्पणी गरेका छन् । तर उनले पार्टीभित्र आफ्नो असन्तुष्‍टी रहेको चाहिँ स्वीकार गरेका छन् । उनलाई प्रधानमन्त्री ओलीले नेकपा प्रवेश गराउन चाहेको र त्यसका लागि विश्वासपात्रहरुलाई बुझ्न लगाएको चर्चा पनि छ । चितवनमा प्रचण्डको राजनीतिक पकड भन्दा पाण्डेको पकड बलियो छ । पाण्डेले खासगरी पश्‍चिम चितवन र माडी क्षेत्रमा आफ्नो राजनीतिक पकड बलियो बनाएका छन् ।

हाल माडीमा नै भगवान रामको जन्मभूमि भएको भन्दै आएका प्रधानमन्त्रीलाई हिन्दू धर्मको राजनीति गरेका, स्थानियमा पकड भएका र पैसा समेत खर्च गर्न सक्ने क्षमताका पाण्डेलाई पार्टीमा ल्याउँदा सोहि क्षेत्रका प्रचण्डलाई काउन्टर दिन सकिने विश्‍वास छ ।

तर, राप्रपा स्रोतले भने पार्टीमा धेरैको असन्तुष्‍टि रहेको भएपनि पार्टी छाड्ने कुरा नभएको तर प्रधानमन्त्री निकटहरुबाट भेटघाटका लागि बोलाएको चाहिँ बताए । पाण्डे निकट स्रोतले पनि भनेको छ, ‘भेटघाट र कुराकानी हुँदैमा त्यै पार्टीमा जाने कुरा हुँदैन, उहाँ आफ्नै पार्टी (राप्रपा) मै बसेर संघर्ष गर्नुहुन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE