प्रधानमन्त्री निवास नै कोरोनाको इपिसेन्टर: सल्लाहकार, स्वकीय सचिव र सुरक्षाकर्मी संक्रमित

प्रधानमन्त्री तथा प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि सुरक्षा निकायले उनीहरुलाई फिर्ता बोलाएको छ।

उनीहरुको ठाउँमा अन्य टोली पठाउन सुरु गरिसकेको छ।

प्रधानमन्त्री निवास र सुरक्षामा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा शनिबार संक्रमण पुष्टि देखिएको हो।

‘प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका तर प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष सम्पर्कमा नभएका २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोले वहाँहरुलाई बदली गर्ने कार्य भइरहेको छ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

संक्रमण देखिएका अन्य सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरीका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो।

‘हाम्रो अवस्थामा सामान्य छ। होम आइसोलेसनमा बसेका छौँ’, प्रेस सल्लाहकार थापाले नेपालखवरसँग भने, ‘तीन जना सल्लाहकार र एक स्वकीय सचिवमा संक्रमण देखिएको हो।’

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार पीसीआर परीक्षण गरिएको छैन। ‘बेलाबेलामा उहाँको पनि कोरोना परीक्षण हुने गरेको छ। तर शुक्रबार भने भएको छैन’ थापाले भने।

आफूहरु संक्रमित भएको जानकारी तीनै सल्लाहकारहरुले सामाजिक सञ्जालमार्फत पनि दिएका थिए। उानीहरुले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन्।

गत साता प्रधानमन्त्रीको निजी चिकित्सक डा‍‍. दिव्यासिंह शाह कोरोना संक्रमण भएकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE