उपप्रधानमन्त्री पोखरेललाई लेखा समितिमा बोलाउने तयारी, स्वास्थ्य सामग्री खरीद अनियमितता बारे छलफल हुने

स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको विषयमा छलफल गर्नका लागि लेखा समितिले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बोलाउने तयारी गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि खरीद गरिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको विषयमा लेखा समितिमा छलफल चलिरहेको छ ।

छलफलकै क्रममा पोखरेललाई बोलाउने तयारी भएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए । समितिमा छलफलका लागि पोखरेललाई बोलाउने तयारी भए पनि मिति भने टुंगो नलागेको सचिव पाण्डेको भनाइ छ । “कहिले बोलाउने भन्ने बारेमा मिति टुङ्गो लागिसकेको छैन,” उनले भने ।

उपप्रधानमन्त्री पोखरेल कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक हुन् । लेखा समितिले चीनबाट खरीद गरेको कोरोना रोकथाम तथा नियन्त्रयण सम्बन्धी स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको भन्दै त्यसबारे जिम्मेवार अधिकारीहरुलाई बोलाएर छलफल गरिरहेको छ ।

यसअघि लेखा समितिले यसै विषयमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि बोलाइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE