प्रिमियर लिग:वेस्ट ब्रोममाथि लेस्टर विजयी

प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नव प्रवेशी क्लब वेस्ट ब्रोममाथि जित निकालेको छ । आइतबार बेलुका भएको खेलमा लेस्टरले वेस्ट ब्रोममाथि ३–० गोलको जित निकालेको हो ।

वेस्ट ब्रोमको घरेलु मैदान भएको खेलमा पाहुना टोली लेस्टरलाई जित दिलाउन जेमी भार्डीले दुई तथा टिमोथी कास्टाङ्गेले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो दोस्रो हाफमा पाहुना टोली लेस्टरले अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा टिमोथीले डेनिस प्रेटको पासमा गोल गर्दै लेस्टरलाई १–० को अग्रता दिलाए ।

त्यस्तै ७४ औं मिनेटमा भार्डीले गोल गर्दै अग्रता दोब्बर पारे । वेस्ट ब्रोमका मार्क अल्ब्रिघटोनले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपनि लेस्टरले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भार्डीले गोल गरेका थिए ।  ८४ औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरे । उनले दोस्रो गोल पनि पेनाल्टीमा गरेका थिए । जेम्स जस्टीनले पोनाल्टी क्षेत्रमा फाउल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा भार्डीले गोल गर्दै लेस्टरलाई ३–० को सहज जित दिलाएका हुन् ।

यससँगै लेस्टरले लिगमा सुखद सुरुवात गरेको छ । पहिलो खेलमा जित निकाल्दै लेस्टरले अंक तालिकामा तीन अंक जोडेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE