प्रिमियर लिग: एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल…

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र एभर्टनबीचको खेल बराबरीमा सकिएको छ। एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको रोमाञ्चक खेल २-२ को बराबरीमा सकिएको हो। लिभरपुलले खेलको तेस्रो मिनेटमा नै सडियो मानेको गोलमा अग्रता बनाएको थियो। खेलको ११औँ मिनेटमा लिभरपुलका मुख्य डिफेन्डर भर्जिल भ्यान डाइक चोटका कारण मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा जोय गोमेज आए। रोमाञ्चक बनेको खेलमा १९औँ मिनेटमा एभर्टनका लागि माइकल किनले बराबरी गोल गरे।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफ थप रोमाञ्चक बन्यो। खेलको ७२औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको ९ मिनेटपछि एभर्टनका लागि डोमिनिक कलभर्ट लेविनले गोल गर्दै खेल बराबरी बनाए। बराबरीमा बढेको खेलमा अन्तिम समयमा जोर्डन हेन्डरसनको गोल भिएआरमार्फत अफसाइड हेरेर स्थगित गरियो। जसले खेल बराबरीमा नै सकियो।

यसअघि एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा लिभरपुल र एभर्टनबीच भएका तीन प्रिमियर लिग खेल पनि बराबरी भएका थिए। गुडिसन पार्कमा दुईबीचको पछिल्लो नौ खेलमा आठ खेल बराबरी नै भएका छन्। पछिल्लो पटक २०१६ को डिसेम्बरमा एभर्टनलाई उसैको मैदानमा लिभरपुलले १-० ले हराएको थियो।

२०१० अक्टोबरमा २-० ले हराएदेखि एभर्टनले लिभरपुललाई हराउन सकेको छैन। यो सिजन प्रिमियर लिगमा लिभरपुललाई प्रतिस्पर्धा दिने क्लब एभर्टन नै भएको खेलअघि लिभरपुल प्रशिक्षक योर्गन क्लोपले बताएका थिए। यो सिजन यसअघिका चारै खेल जितेको एभर्टन अपराजित रहेको छ। लिभरपुल भने एस्टन भिलासँग ७-२ ले पराजित भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE