प्रिमियर लिग: लिड्स युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको ६-२ गोलको सानदार जित…

प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानचेस्टरले लिड्समाथि ६-२ गोलअन्तरले जित निकालेको हो।

रोमाञ्चक बनेको खेलको तीन मिनेटभित्रै म्यानचेस्टरले दुई गोल गरेको थियो। खेलको दोस्रो र तेस्रो मिनेटमा म्यानचेस्टरका स्कट म्याकटोमिनेले गोल गरे। त्यस्तै घरेलु टोलीका लागि ब्रुनो फर्नान्डेजले २० औं मिनेटमा अर्को गोल थपे थपे एन्टोनी मार्सियलको पासमा ३७ औं मिनेटमा भिक्टर लिन्डेलोफले गोल गरे। उता लिड्सका लागि ४१ औं मिनेटमा लिअम कोपरले गोल गर्दा पहिलो हाफमै म्यानचेस्टरले ४-१ को अग्रता बनाएको थियो।

दोस्रो हाफमा ड्यानियल जेम्सले युनाइटेडका लागि अर्को गोल थपे। उनले म्याकटोमिनेको पासमा ६६ औं मिनेटमा गोल गरेका थिए। उता लिड्सका लागि स्टुअर्ट डलासले ७३ औं मिनेटमा गोल फर्काए। खेलको ७० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै म्यानचेस्टरका ब्रुनो फर्नान्डेजले गोल गर्दा खेल घरेलु टोलीले ६-२ ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै म्यानचेस्टर युनाइटेड तालिकाको तेस्रो स्थानमा छ। सिजनको सुरुमा फितलो प्रदर्शन गरेको युनाइटेडले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। युनाइटेडले १३ खेलबाट २६ अंक जोडेको छ भने शीर्षस्थानमा रहेको लिभरपुलले १४ खेलबाट ३१ र लेस्टर सिटीले १४ खेलबाट २७ अंक जोडेको छ। पराजय ब्यहोरेको लिड्स भने १७ अंकसहित १४ औं स्थानमा छ।

WRITE COMMENTS FOR THIS ARTICLE