प्रिमियर लिग: सनको ४ गोलमा टोटेनहमको जित

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेर १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा टोटेनहमले ४ गोल थपेको थियो । फरवार्ड सन एक्लैले ४ गोल गर्दा उनको सबै गोलमा फरवार्ड ह्यारी केनले असिस्ट दिएका थिए । केन आफैंले पनि एक गोल थपे । साउथह्याम्पटनले खेलको ३२ औं मिनेटमा ड्यानी इंग्सको गोलमा अग्रता लिएको थियो । त्यसअघि केन र इंग्स दुवैले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएको थिएन । टोटेनहमका लागि सनले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा टोटेनहमले मिडफिल्डर जिओभानी लो सेल्सोलाई मैदान प्रवेश गराएको थियो । मिडफिल्डमा उनले नै उच्च प्रदर्शन गर्दा टोटेनहमले पुनरागमन गर्न सकेको थियो । सनले ४७ औं मिनेटमा टोटेनहमलाई अग्रता दिलाए । ६४ औं मिनेटमा केनको चिप पासलाई उत्कृष्ट नियन्त्रणमा लिंदै वन भर्सेस वनको अवस्थामा गोल गर्दै सनले ह्याट्रिक पूरा गरे ।

७३ औं मिनेटमा सनले व्यक्तिगत चौथो गोल गरे । यसपटक पनि उनले केनको क्रसलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिंदै गोल गरेका थिए । ८२ औं मिनेटमा ४ असिस्ट दिएका केनले पनि गोल गरे । एरिक लामेलाको प्रहार पोस्टमा लागेर फर्केपछि केनले पहिलो टचमा गोल गर्दै जारी सिजन प्रिमियर लिगमा गोलको खाता खोले । इन्ज्युरी समयमा साउथह्याम्पटनले सान्तवना गोल फर्कायो । म्याट डोहर्टिको हातमा बलले लागेपछि भीएआरको मदतले रेफ्रीले पेनाल्टी दिए । ड्यानी इंग्सले पेनाल्टीमा गोल गर्दै ५-२ स्कोर बनाए । लिगमा साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । टोटेनहम भने एभर्टनविरुद्ध हारपछि पहिलो जित दर्ता गर्न सफल भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE