फिल्म ‘भाँडाकुटी’ खेल्दै मुकुन भुसाल र बेनिशा हमाल…

घटस्थापनाको दिन पारेर घोषणा गरिएको फिल्म ‘भाँडाकुटी’ मा मुकुन भुसाल र बेनिशा हमालले सँगै अभिनय गर्ने भएका छन्। किरण विकको लेखन तथा निर्देशनमा बन्ने यो सिनेमामा विवाहको विषयमा चार कथा बुनिएको छ। निर्देशक किरणले सेतोपाटीलाई भने, ‘भाँडाकुटीमा बच्चादेखि वयस्क दर्शकसम्मलाई मन पर्ने गरी चार कथा रोचक रुपमा प्रस्तुत गरिनेछ।’

फिल्मको चारओटै कथा बिहेसम्बन्धी हो जस मध्येको एउटा कथा दलित अन्तरजातीय प्रेम विवाहबारे हुने पनि उनले बताए। उनका अनुसार, भाँडाकुटी फिल्मले विवाहसम्बन्धी तीता-मीठा किस्साहरु हास्य शैलीमा भन्नेछ।

कलम खड्का निर्माता रहेको यो फिल्म निर्माणको घोषणा घटस्थापनामा भए पनि छायांकनकाे काम फागुनबाट मात्रै सुरु हुने जानकारी निर्माण पक्षले गराएको छ। महावीर विश्वकर्मा, शेखर सुवेदी, रिजेन थापा आदि कलाकारको पनि अभिनय रहने यो फिल्मको छायांकन बुटवलमा हुनेछ।

निशल पौडेलको सिनेमेटाेग्राफीमा बन्ने फिल्मको स्क्रिनप्ले किरण विक र गोपाल आचार्यले संयुक्त लेखिरहेका छन्। कालो पोथी घर , कालोपोथी , ब्लाइन्ड रक्स जस्ता फिल्ममा काम गरेकी बेनिशा र चर्चित फिल्म बुलबुलका अभिनेता मुकुन भुसालको ‘भाँडाकुटी’ हेर्न भने केही महिना कुर्नै पर्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE