फेरि संसद विघटन हुन सक्ने स‌ँकेत

साबिक नेकपाभित्र अन्तरविरोध बढेसँगै सरकार ढल्ने खतरा देखिएपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका छन् ।नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने राजीनामा दिने बताएका ओलीले फेरि पुस ५ को स्थिति आउन सक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सडक उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका प्रधानमन्त्री ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने स्पष्ट भाषामा बताए ।‘संसद यस्तै हो । संसद कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो विचारमा फेरि पनि ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितविना देश अगाडि ‘स्मुथ्ली’ जानै सक्दैन । त्यसकारण फेरि पनि हामीले ताजा जनादेशमा जानुपर्ने हुन्छ ।’​

संसदको अंकगणितलाई ‘म्यानेज गर्न’ वा आफ्नो पक्षमा पार्न सकिएन भने त्यो अवस्थामा चुनावमा जानुपर्ने ओलीको तर्क छ । प्रधानमन्त्री ओलीले अगाडि भने, ‘त्यसलाई (संसदलाई) भरसक म्यानेज गर्न खोज्नुपर्छ । यदि त्यो व्यवस्थापन भएन र विभिन्न व्यक्तिहरुका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरीत गयो भने ताजा जनादेश भनेको त्यही हो । त्यसमा जानुपर्छ अब । त्यस्तोबेलामा ताजा जनादेशमा जानुपर्छ ।’

दुईवटा अवस्थामा चुनावमा जानुपर्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ । प्रधानमन्त्री ओली भन्छन्, ‘कतिबेर चुनाव हुनुपर्छ भन्दा एउटा त आवधिक निर्वाचन । लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ । अर्को, यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंकगणित भन्दा माथिको कुरा हो ।’

 

विगतमा अंकगणितले साथ नदिएको हुनाले संसद विघटन गर्नुपरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको आवश्यकता, विकासको आवश्यकता, विकासको आकांक्षा अंकगणितका लागि छोड्ने कि देश र जनताको आवश्यकताका लागि अंकगणित परिवर्तन गर्ने ? यो त जनताले फैसला गर्ने कुरा हो, त्यसकारण जनतामा त्यस्तो अवस्थामा जानुपर्छ । हामीले गरेको (संसद) विघटन त्यही अर्थमा हो ।’

WRITE COMMENTS FOR THIS ARTICLE