बालबालिकाको अवस्था निकै जोखिमपूर्ण

नेपालमा बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेका ‘नेपालमा बाल अधिकारको अवस्था–२०७६’ प्रतिवेदनले देखाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा बालबालिका जोखिममा रहेका देखाएको हो ।

प्रतिवेदनका अनुसार हराएका बालबालिका न्यून मात्र फेला पर्ने गरेका छन् । बालबालिका खोजतलास केन्द्रको आव २०७५/७६ को चैत मसान्तसम्म दुई हजार ४८१ बालबालिका हराएका भनी निवेदन परेकामा एक हजार २२४ बालबालिका फेला परेका तर एक हजार २५७ बालबालिका हराएका प्रतिवेदनमा उल्लेख छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार आव २०७५/७६ को चैत मसान्तसम्म हराएका ३८ प्रतिशत मानिस फेला पर्दैनन् । त्यसमध्ये अधिकाशं महिला र बालबालिका रहेका छन् । नेपाल प्रहरीका ११ जिल्लाको तथ्याङ्कअनुसार गत आवमा तीन हजार ३३२ लाई भारतबाट फर्काइको छ । सोमध्ये ४६ प्रतिशत महिला १४ प्रतिशत बालबालिका रहेको छ ।

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार आव २०७५/७६ मा दुई हजार ३३० बालबालिका हराएका र त्यसमध्ये ४४ प्रतिशत मात्र फेला परेका छन् । हराएकामध्ये ६० प्रतिशत बालिका रहेका र हराएका बालबालिका बेचखिनमा परेका अनुमान प्रतिवेदनले गरेको छ । नेपालका बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको र उनीहरुको संरक्षणमा विशेष रूपमा परिवार र परिवारविहीन बालबालिकालाई राज्यले हेर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।

नेपालका बालबालिकाका बारेमा अध्ययन गर्दा निकै जोखिमपूर्ण देखिन्छ, “राष्ट्रका भविष्य रहेका बालबालिकाको अधिकारको संरक्षण गर्नु राष्ट्रको दायित्व हो ।” नेपालका ११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का भएका उल्लेख छ । करीब दुई लाख ९० हजार बालबालिका ख्याउटे हुनुका साथै १३ लाख बालबालिका भिटामिन ए, आइरनजस्ता आवश्यक पोषक तत्वको कमी रहेको प्रतिवेदनमा छ ।

नेपालमा पाँचदेखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये एक जनामा मोटोपनाको समस्या देखिएको छ । प्रतिवेदनमा नेपालका २८ प्रतिशत विद्यालयमा छात्रछात्राका लागि छुटाछुटै शौचालयको व्यवस्था नभएको साथै ८३ प्रतिशत किशोरीले महिनावारी भएका समयमा कपडा र केवल १५ प्रतिशत किशोरीले मात्र स्यानीटरी प्याडको प्रयोग गर्ने गरेका उल्लेख छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार बालबालिका नेपालमा कूल जनसङ्ख्याको ४१ दशमलब ८२ प्रतिशत जनसङ्ख्याको १८ प्रतिशत १८ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन् । शिक्षा विभागको २०७४/७५ को तथ्याङ्का अनुसार माध्यामिक तह कक्षा ९ देखि १२ मा बालबालिकाको खुद भर्ना दर ४३ दशमलब सात प्रतिशत मात्र रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा १५ देखि १९ वर्षका १७ प्रतिशत किशोरावस्थामा नै आमा भइसक्ने गरेका उल्लेख छ । साथै, पाँचदेखि १७ वर्ष उमेर समूहका ३७ दशमलब चार प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेका उल्लेख छ । मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदनमा नेपालमा अपाङ्गता भएका बालबालिका पनि त्यतिकै जोखिममा रहेका कुरालाई समेटनुपर्ने र विद्यालय अभावका कारण पनि हिमाली क्षेत्रमा बालबालिका परिवारबाट टाढिएर बालगृहमा बस्न बाध्य भएका कुरालाई पनि ध्यान दिनुपर्ने देखिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE