बुन्डेसलिगा: डर्टमुन्डमाथि बायर्नको रोमाञ्‍चक जीत…

जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा बायर्न म्युनिखले रोमाञ्‍चक जीत हात पारेको छ । चिरपरिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ३-२ ले पराजित गर्दै बायर्नले ३ अंक हासिल गरेको हो ।

खेलमा घरेलु टोली डर्टमुन्डले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । कप्तान मार्को रियसले पहिलो हाफको ४५औं मिनेटमा गोल गर्दै बायर्नविरुद्ध अग्रता दिलाएका थिए । तर त्यसको केही मिनेटमै अर्थात् इन्ज्युरी समयको चौथो मिनेटमा डेविड अलाबाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ४८औं मिनेटमा लेवान्डोसकीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ८० औं मिनेटमा लेवान्डोस्कीकै पासमा लेरोय सानेले गोल गर्दै अग्रता दोब्बर पारे । ८३ औं मिनेटमा डर्टमुन्डका एर्लिङ हालान्डले गोल फर्काएपनि त्यसपछि गोल नहुँदा बायर्न ३-२ ले विजयी भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE