बैंकमा पैसा थपिएको थपियै, ऋण प्रवाह सुस्त र आर्थिक क्रियाकलापको गति पनि मन्द

गत फागुन मसान्तमा ब्यांक तथा वित्तीय संस्थामा सर्वसाधारणले जम्मा गरेको र संस्थागत गरी रु. ३६ खर्ब १४ अर्ब निक्षेप थियो । गत असार मसान्तसम्म आइपुग्दा निक्षेप बढेर रु. ३९ खर्ब ३३ अर्ब पुगेको छ । अर्थात, पाँच महीनाभित्रमा ब्यांक तथा वित्तीय संस्थामा निक्षेप ३ खर्ब १९ अर्ब भन्दा बढीले थपिएको छ । तर, यही गतिमा ऋण प्रवाह भने भएको छैन।

फागुन–असारका बीचमा ब्यांक तथा वित्तीय संस्थाको ऋण प्रवाह रु. ५० अर्ब मात्र वृद्धि भएको छ । फागुन मसान्तसम्ममा ब्यांक तथा वित्तीय संस्थाले रु. ३२ खर्ब २३ अर्ब ऋण प्रवाह गरेकोमा यो रकम असार मसान्तसम्म आइपुग्दा बढेर रु. ३२ खर्ब ७३ अर्ब पुगेको नेपाल राष्ट्र ब्यांकको तथ्यांकले देखाएको छ।

यसको अर्थ, आर्थिक क्रियाकलाप सुस्त भएसँगै ब्यांक तथा वित्तीय संस्थाको ऋण प्रवाह पनि खुम्चिएको छ । ऋण प्रवाह सुस्त हुनुको अर्थ आर्थिक क्रियाकलापको गति मन्द हुनु हो । यसले नयाँ व्यवसाय थालनी, रोजगारी सिर्जना र अर्थतन्त्रको विस्तार भइरहेको छैन भन्ने संकेत गर्छ।

ब्यांकिङ प्रणालीमा निक्षेप थपिने तर लगानी नहुने स्थितिका कारण कर्जा र निक्षेप दुबैको ब्याजदरमा असर परेको छ । फागुनमा सर्वसाधारणले बचत खातामा औसत ४.७८ प्रतिशत ब्याजदर पाउने गरेकोमा असार मसान्तमा त्यो ४.१६ प्रतिशतमा ओर्लिएको छ । त्यस्तै, फागुनमा मुद्दति निक्षेपमा औसत ९.७४ प्रतिशत रहेको ब्याजदर असार मसान्तसम्ममा ९.०२ प्रतिशतमा झरेको छ।

ब्यांकमा ऋणयोग्य तरलता रकम पर्याप्त भएपछि नयाँ ऋणको ब्याजदर पनि घटेको छ । विभिन्न ब्यांक तथा वित्तीय संस्थाले ग्राहक तान्न आकर्षक स्किम अगाडि सारिरहेका छन् । फागुनमा औसतमा ११.८० प्रतिशत रहेको कर्जाको ब्याजदर असारमा १०.११ प्रतिशतमा झरेको छ । औसतमा दोहोरो अंकको ब्याजदर देखिए पनि कयौं ब्यांक तथा वित्तीय संस्थाले एकल अंकको ब्याजदरमा ऋण दिने प्रस्ताव गरेका छन्।

ब्यांक तथा वित्तीय संस्थामा ऋणयोग्य रकम पर्याप्त भएपनि पूँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) असारमा ६९.५८ प्रतिशत रहेको राष्ट्र ब्यांकको तथ्यांक छ । यो फागुनमा ७६.६६ प्रतिशत थियो।

तर, कर्जा आवश्यक पर्ने ऋणी भने छैनन् । नेपाल ब्यांकर्स एशोसिएसनका अध्यक्ष तथा सानिमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल ऋणको सोधखोज गर्न खोज्ने नै नभएको बताउँछन् । उनी ६ साउनमा बन्दाबन्दी खुलेपछि फाट्टफुट्ट ऋणको माग आउन थालेको भए पनि कोरोनाभाइरसको संक्रमण विस्तार हुँदै गएपछि त्यो ठप्पप्रायः रहेको बताउँछन् । पछिल्ला केही दिनयता देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएपछि त झन् ब्यांक ऋण प्रवाह ठप्प भएको छ।

ब्यांकहरुको ऋण प्रवाहको सुस्ततासँगै उठ्नुपर्ने ऋणको साँवाको किस्ता र ब्याज उठ्ने गति पनि सुस्त भएको छ । देशैभरिका व्यवसाय अप्ठ्यारोमा पर्दै आएपछि ब्यांकको किस्ता उठ्न पनि कठिन हुँदै गएको हो । व्यवसाय बिग्रँदै जाँदा ब्यांकको ऋण जोखिममा पर्दै जान्छ।

बन्दाबन्दीका कारण आवतजावतमा समस्या भएपछि ब्यांक तथा वित्तीय संस्थाको मोबाइल ब्यांकिङ र इन्टरनेट ब्यांकिङका सेवाग्राही भने ह्वात्तै बढेका छन् । गत फागुनमा ८६ लाख ७९ हजार रहेका मोबाइल ब्यांकिङका सेवाग्राही असारसम्ममा १ करोड १ लाख पुगेका छन् । त्यस्तै, इन्टरनेट ब्यांकिङका ग्राहक फागुनमा ९ लाख ३३ हजार रहेकोमा असारमा १० लाख नाघेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE