ब्राजिलियन डिफेन्डर थियागो सिल्भा चेल्सीमा अनुबन्धित

पीएसजीसँग सम्झौता सकिएपछि फ्री एजेन्ट बनेका सिल्भाले चेल्सीसँग एक वर्षको सम्झौता गरेका छन् । क्लबको चाहनाअनुसार अर्को एक वर्ष सम्झौता थप गर्न पाउने प्रावधान रहेको छ । च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएलगत्तै सिल्भाले चेल्सीसँग अनुबन्ध प्रक्रिया अघि बढाएका थिए ।

चेल्सीले यसअघि नै ट्रान्सफर विन्डोमा ४ खेलाडी अनुबन्ध गरिसकेको छ । आयाक्सबाट हाकिम जिएक र आरबी लाइप्जिगबाट टिमो वेर्नरलाई भित्र्याएको चेल्सीले यसै साता लेस्टर सिटीका बेन चिलवेल र फ्रान्सेली डिफेन्डर मालांग सारलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । सिल्भाले चेल्सीसँग सम्झौता गरेपछि लाम्पार्डको टोलीमा रहेर खेल्न उत्सुक रहेको बताए । ‘चेल्सीसँग अनुबन्ध हुन पाउँदा एकदम खुसी छु । फ्रान्क लाम्पार्डले बुनिरहेको यस युवा टोलीमा समावेश भएर सफलता हासिल गर्न म तयार छु । म स्टामफर्ड ब्रिजमा खेल्न लालायित छु,’ उनले भने ।

सिल्भाले पीएसजीअघि एसी मिलानबाट खेल्दै कप्तानका रुपमा इटालियन लिगको उपाधि जितेका थिए । उनले त्यसअघि फ्लुमिनेन्सेबाट पनि खेलेका थिए । ब्राजिलको राष्ट्रिय टोलीको समेत कप्तानी गरिसकेका सिल्भाले टोलीका लागि ८९ खेल खेल्दै ७ गोल गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE