भदौ १५ देखि नियमित उडान हुने, विदेशबाट आएका सबै यात्रुलाई क्वारेन्टिन अनिवार्य

१६ भदौ देखि खुला हुने नियमित हवाई उडानका लागि विदेशबाट आउने सबै हवाई यात्रुले हवाई टिकटमै क्वारेन्टिमा बस्ने होटलको शूल्क अनिवार्य तिर्नुपर्ने भएको छ। विदेशी मुलुकबाट आउने सबै यात्रुले अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने सर्त स्वीकार गरेर मात्रै नेपाल आउन दिने निर्णय सरकारले गरेको छ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले ४ भदौमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा आज पीसीआर परीक्षण सहज भएका मुलुबाट आउने हवाई यात्रुका लागि मात्रै नियमित उडान खुलाउने निर्णय भएको बताए।

सरकारले गरेको निर्णय अनुसार अब विदेशबाट नियमित उडानमा आउने कुनै पनि हवाई यात्रुले हवाई टिकटमा नै आफू बस्ने होटलको लागि सात दिनको पैसा बुझाउनु पर्नेछ। सरकारले पर्यटकीय स्तरदेखि पाँचतारेसम्मका होटलमा बस्न आवश्यक शूल्क तोकेको छ।

सो शुल्क अनुसार पर्यटकीय स्तरमा बस्दा रु.१८ सय र पाँचतारे होटलमा बस्नेले रु.९ हजार तिर्नुपर्ने छ। यस्तो शूल्क एक साताको एकमुष्ट हवाई टिकटमा नै बुझाउनुपर्ने निर्णय सरकारले गरेको छ।

दैनिक ५ सय जना मात्रै यस्तो नियमित उडानबाट आउन पाउने मन्त्री खतिवडाले बताए। यसको तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने पनि मन्त्रीपरिषद्को निर्णयमा उल्लेख रहेको खतिवडाले बताए।

नियमित उडान खुला गर्न पीसीआर सहज भएका मुलुक र सहर मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका क्यानडाबाट मात्रै आउन पाउने व्यवस्था गरेको छ।

यो बाहेक युरोपेली मुलुकबाट नेपाल आउन अनुमति भएका नेपाली नागरिक, विदेशस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट संघका कर्मचारीलाई मात्रै नियमित उडानबाट आउन मिल्नेछ।

नियमित उडानमा आउने यात्रुले जहाज चढ्नु ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट तथा हवाई उडानसँगै होटल बुकिङको प्रमाण पनि दिनु पर्नेछ। पीसीआर सहज नभएका कुवेत, कतार र साउदी अरबबाट भने  नियमति उडानबाट यात्रु ल्याउन नपाउने व्यवस्था सरकारले गरेको छ। नियमित उडानबाट आउन नपाउने देशका लागि उद्धार उडान गर्ने पनि सरकारको निर्णयमा उल्लेख छ।

नियमित उडानबाट यात्रु ल्याउन कोभिड १९ को पीसीआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएका र परीक्षण नभएका यात्रुसँगै ल्याउन पाइने छैन्। कुनै वायुसेवा ती यात्रु मिसाएर ल्याएमा होटल क्वारेन्टिनको खर्च आफैं व्यहोर्नुपर्ने र कानून बमोजिम कारवाही गर्नेसम्मको चेतावनी पनि सरकारले दिएको छ।

पीसीआर गर्न सहज नहुने देशमा भने चार्टर्ड उडान मात्रै हुनेछन्। सरकारले दैनिक ५ सय जनासम्मको उद्धार उडानलाई पनि जारी राख्ने भएको  छ। यसका लागि दूतावासबाट सिफारिश भएका यात्रुलाई मात्रै चार्टर्डबाट ल्याउन पाउने निर्णय गरेको छ।

उद्धार उडानबाट आउने यात्रुको हकमा भने क्वारेन्टिमा बस्ने व्यवस्था सरकारले मिलाउने छ। साथै उद्धार उडानबाट आउने यात्रुको पीसीआर नेगेटिभ भएको यात्रुलाई १४ दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्ने सर्तमा सम्बन्धित प्रदेश वा स्थानीय तहमा पठाइने पनि उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE