भैंसीपालनले दिएको खुशी

–उपेन्द्र न्यौपाने

होण्डा बाइकको भटटट…. आवाज । त्यसमाथिको अधबैंसे पुरुष । पछाडि ठूलो झोला । त्यसभित्र ग्यालेन र जम्बो कोकका बोतल । ती सबै दूधले टनाटन भरिएका । बजारका डेरी र चिया पसल अगाडि बाइक रोक्दै बोतल र ग्यालेन रित्याउँदै अघि बढ्दै गरेको दृश्य जुम्ला खलंगावासीले निरन्तर देखिरहेका छन् । यो दृश्यका बाइक चालक हुन् गोठीचौर गाउँपालिकाका भैंसी पालक कृषक विष्णु धिताल ।

झोलामा पाँच–सात माना दूध बेच्न लुखुरलुखुर हिँड्दै खलंगा बजार आउने विष्णु बाइक चढेर दूध बिक्री गर्ने भएका छन् । उनको कथा जो कोहीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । उनको मेहनत र लगनशीलताले पाएको सफलताले धेरैका मन तान्न सक्छ ।

आजभन्दा २१ वर्ष अगाडि विष्णु एक सामान्य जीवन निर्वाह गरिरहेका किसान र मजदूर थिए । उनको मजदूरी र खेतीपाती निर्वाहमुखी थियो । थप आम्दानीको स्रोत थिएन । बचत सुक्को नहुने भएर मन खिन्न थियो । सम्भावना खोजिरहेका थिए तर, लगानीको जोहो भैसकेको थिएन । बैंक तथा वित्तीय संस्थाले सितिमिति नपत्याउने । अहिलेको जस्तो गाउँगाउँमा बैंक पुगिसकेका पनि थिएनन् । बजारका बैंकमा सजिलै पहुँच नपुग्ने । त्यसैले रकम जुट्न सकिरहेको थिएन ।

सोच भैंसी पाल्ने थियो तर, जुम्लामा व्यावसायिक रुपमा सम्भव छैन भन्ने मानिसहरुको सङ्ख्या कम थिएन । हुन पनि गोरस (दूध) गुजारामुखी मात्र भैरहेको सबैले देख्दै आएको हो । उनी भने मौका कुरेर बसेका थिए । एकदिन गोठीचौर गाउँपालिकामा गरिबी निवारण कोषका कर्मचारी समूह बनाउन आए । उनी समूहमा सदस्य बने । पछि उनलाई कोषले लगानी गर्ने भयो । बैंकले नपत्याउने विष्णु जस्ता सामान्य किसानहरुले सहुलियत ब्याजदरमा ऋण पाए । कतिपय ठाउँमा गरिबी निवारण कोषको रकम दुरुपयोग भयो । विष्णुले यसलाई सुनौलो अवसरमा परिणत गरे ।

जीवनमा ठूलो रकम कसैले पत्यायो । त्यसबेला उनका आँखाबाट हर्षका आँसु झरे । उनले ढिलो नगरी भैंसी किन्ने योजना बनाए । त्यसमा केही रकम थपथाप गरी एउटा भैंसी किने । अब उनको यात्रा निर्वाहमुखीबाट व्यावसायिकतातिर उन्मुख भयो । गोठीचौर गाउँपालिकास्थित धिता गाउँको आफ्नै घरमा व्यावसायिक भैंसीपालनको यात्रा शुरु भयो । यो यात्राले नै हो उनलाई झोला भिर्ने बनाएको ।

गाउँको दूधले बजार पाउन थालेपछि विष्णु र उनको परिवार खुशी भए । मेहनत बढिरहेको थियो । थोरैथोरै बचत पनि भैरहेको थियो । एकाएक मालामाल हुने कुरा भएन । उनको व्यवसाय अहिलेको राजनीति र सरकारी सेवा जस्तो पनि थिएन । तर मेहनतले बिस्तारै फल दिन थालेको थियो । उत्साह बढिरहेको थियो । जाँगर चलिरहेको थियो ।

दशैंमा आशिर्वाद दिनेहरु ’एका एक्काइस भसय’ (एकबाट बढेर एक्काइस)’ भन्छन् । यो उक्ति विशेषगरी छोरोछोरी धेरै हुनुपर्छ भन्ने पुरानो मान्यतामा आधारित भए पनि विष्णुको भैंसीपालनमा यो अनिवार्य थियो । उनले मेहनत गरेर आशिर्वादमा सन्तान बढाउने उक्ति झैं एकबाट एक्काइस भैंसी बनाउने थियो । उनको २१ भैंसी नपुगे पनि १४ वटा पुगिसकेको छ ।

हाल विष्णुको फार्म जिल्लाकै उत्कृष्ट व्यावसायिक फार्मका रुपमा स्थापित भैसकेको छ । आत्मविश्वास, लगनशीलता र मेहनतले अघि बढ्न सकियो भने सानो सहयोगबाट पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण उनले पस्किरहेका छन् । “परिवारको खर्च धान्नकै लागि थुप्रै दुःख कष्ट सहें, ती कामले मलाई खासै आम्दानी दिएनन्,” विष्णु भन्छन् – “अनि अरुको भन्दा नयाँ काम गर्ने सोच बनाएँ । त्यो कसरी गर्ने भन्ने सोचिरहेको थिएँ । समयले सब सिकायो ।” उनलाई व्यावसायिक रुपमा कृषि फार्म सञ्चालनको जोश जाग्यो । समूहबाट केही ऋण निकाल्ने आँट आयो । त्यसैले नै हो एकको एक्काइस बनाएको । एउटा भैंसींबाट शुरु गरेको फार्ममा अहिले साना ठूला गरी १४ वटा भैसी छन् ।

कामसँगै अनुभूति सङ्गालिने रहेछ । सुरक्षा र जोखिम व्यवस्थापनको चिन्ता बढ्दो रहेछ । उपाय खोजिने रहेछ । खोज्दा खोज्दा भेटियो जोखिम हस्तान्तरण गर्ने उपाय । उनले सबै भैंसीको बीमा गरी सुरक्षित हुने बाटो अपनाएका छन् । उनी भन्छन् – “ढुक्क छु ।”

त्यसै भनिएको रहेन छ समय बलवान् छ भनेर । समयसँगै हिँड्यो भने सबै कुरा सिकिने रहेछ । समयले अनुकूल हुन सिकाउँदो रहेछ । शुरुमा झोलामा राखेर एक घण्टा पैदल हिँडेर दूध बेच्न बजार पुग्ने विष्णु अहिले बाइक चढेर सररर १५ मिनेटमा बजार पुग्छन् । यसले व्यवसाय विस्तार गर्न टेवा पु¥याएको उनले अनुभूत गरेका छन् ।

“दश वटा भैंसीबाट दैनिक ४० लिटर दूध प्रतिलिटर ७० का दरले बिक्री गर्छु,” उनी सुनाउँछन् – “शुरुमा त धेरै आम्दानी लिन सकिएन तर, मेहनत गर्न छोडिएन पनि ।”

व्यवसाय शुरु गर्दाका प्रारम्भका दिन सम्झँदा विष्णु भावविभोर हुन्छन् । ती दिन सम्झँदै उनी भन्छन् – “विस्तारै परिवारका सदस्यहरुले साथ दिए । आम्दानी बढ्दै गयो ।” उनको मुहार उज्यालो हुन्छ । मुसुक्क मुस्कुराउँछन् ।

केही भैंसीको लागि उनले एक लाखसम्म पनि लगानी गरेको छ । उनलाई लगानी गर्नु पर्दा कुनै पछुतो छैन । जति बढी लगानी उति बढी आम्दानी भन्ने मनमा परेको छ । जति बढी जोखिम उति बढी नाफा ।

उनको भैंसीपालन व्यवसायमा सम्भावना मात्र होइन चुनौती पनि उत्तिकै छन् । हुन त सम्भावना र चुनौती एक सिक्काका दुई पाटा जस्तै हुन् । उनको व्यवसायको ठूलो चुनौती घाँस हो । वर्षामा जुम्लामा घाँसका लागि कुनै समस्या हुँदैन तर, हिउँदमा सुख्खा हुने हुनाले हरियो घाँस पाइँदैन । यसको असर दूधको मात्रामा पर्न जान्छ । तुलनात्मक रुपमा हिउँदमा दूध उत्पादन घट्छ । तर, आँट गरिसकेपछि पछि हट्ने कुरा आउँदैन । वर्षामा सुकाएर राखेको सुको घाँस र दाना प्रयोग गरी व्यवस्थापन चुस्त बनाउने काममा उनी सफल भएका छन् ।

हाल उनी सहित सात जनाको परिवार छ । उनको परिवारको प्रमुख आम्दानी भनेकै अहिले त्यही भैंसीपालन व्यवसाय हो । भैंसीलाई दैनिक दानापानी, उपचार खर्च, गोठ सुधार लगायत अन्य घरायसी खर्च कटाएर पनि उनले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् । यो कमाई हाल विदेशिने औसत मान्छेको भन्दा राम्रो हो ।

सामान्य कृषकबाट व्यावसायिक फार्म सञ्चालक बनेका सफल किसान विष्णुलाई यतिबेला विभिन्न सङ्घ संस्था तथा भेटेनरीले पनि सहयोग गरेका छन् । आफ्नो मेहनत र सबैको सहयोगबाट अहिले ३० लाखभन्दा बढी लगानीमा व्यवस्थित फार्म बनेको छ । उत्कृष्ट भैंसीपालक कृषकका रुपमा हेटौंडा लगायतका स्थानका फार्म अवलोकनको अवसर पाएका उनलाई अहिले जिल्ला पशु सेवा कार्यालय जुम्लाले गोठ सुधारका लागि अनुदान र अन्य प्राविधिक सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरमै प्राविधिक सहयोग पाए पनि उन्नत जातका भैंसी र तिनलाई आवश्यक घाँस पर्याप्त रुपमा उपलब्ध नहुँदा भने उनलाई व्यवसाय सञ्चालनमा केही कठिनाइ हुने गरेको छ ।

उनी भन्छन् – “विदेश गएर किन दःुख गर्ने ? जुनसुकै व्यवसाय अपनाए पनि जुम्लामा राम्रो पैसा कमाउने वातावरण देख्छु । जुम्लामा नहुने केही छैन । स्याउ, तरकारी, दूध, जडीबुटी सब छ ।”

WRITE COMMENTS FOR THIS ARTICLE