“मेस्सी बार्सिलोना छाडेर रियल म्याड्रिड जाने सम्भावना छैन “: लुइस फिगो

लियोनल मेस्सी बार्सिलोना छाडेर रियल म्याड्रिड जाने सम्भावना नरहेको लुइस फिगोले बताएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्सिलोना ८–२ ले पराजित भएपछि मेस्सीले क्लब छाड्ने चर्चा सुरु भएको छ । बार्सिलोनाका नयाँ प्रशिक्षक कोम्यानसँगको भेटमा पनि कप्तान मेस्सीले क्लबसँग लामो सहकार्य हुन सक्नेमा शंका रहेको बताएका थिए ।
पोर्चुगलका पूर्व सुपर स्टार फिगो भने सन् २००० मा बार्सिलोना छाडेर चिर प्रतिद्वन्द्वि क्लब रियल म्याड्रिड जाँदा समर्थकबाट निकै आलोचित भएका थिए । फिगो त्यसबेला विश्व फुटबलकै स्टार खेलाडीमा गनिन्थे ।
एक वर्ष अझै बार्सिलोनासँग सम्झौता रहेपनि मेस्सीले आउने सिजनमै क्लब छाड्ने हाल्ला पनि चलेको छ । तर उनको रिलिज क्लज नै ७ सय मिलियन युरो रहेकाले जुन कुनै क्लबले उनलाई भित्राउन आँट गरेका छैनन् । म्यानचेस्टर सिटी र इन्टर मिलानले मेस्सीमाथि चासो देखाएपनि खेलाडी आफैंले क्लब छाड्ने नभनेसम्म छलफल अघि बढ्ने सम्भावना छैन । ‘रिलिज क्लबका कारण पनि यो वर्ष मेस्सीलाई यो वर्ष कुनै क्लबले लिन सक्छ जस्तो लाग्दैन, ‘फिगोले भने, ‘अहिले सरुवा बजार निकै कठिन भएको छ । यदि सहज अवस्था हुन्थ्यो भने त्यो सम्झौता हुन पनि सक्थ्यो ।’
फिगोले अन्तिममा थपे, ‘२० वर्षअघि मेरो जस्तो भएको थियो, अहिलेको अवस्थामा त्यहि हुन्छ जस्तो हुने लगभग असम्भव देख्छु ।’ फिगोले त्यसबेला बार्सिलोना छोडेर रियल म्याड्रिड जाँदा उनको निकै आलोचना भएको थियो । बार्सिलोनाका समर्थकले फिगो रियल म्याड्रिड गएपछि एल क्लासिकोका दौरान सुँगुरको टाउको नै उनीतर्फ फ्याँक्दै विरोध समेत जनाएका थिए । त्यसबेला विश्व कीर्तिमानी रकममा रियल पुगेका उनी आजसम्म पनि बार्सिलोना समर्थकमाझ दुश्मन झैँ रहेका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE