म्युजिक नेपालद्वारा चलचित्र पनि अनधिकृत रूपमा युट्युबमा अपलोड

नुमाफुङ र बलिदानजस्ता सिनेमा पनि निर्मातालाई थाहै नदिई बेचेर गैरकानुनी कमाई

म्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको पनि चरम शोषण गरेको पाइएको छ । निर्माताहरूसँग गीत/फिल्म लिने, तर त्यसको रोयल्टी नदिई उसले ठगी गर्दै आएको हो । उसको ठगीमा पर्नेमा पुरानादेखि नयाँ निर्मातासम्म परेका छन् । म्युजिक नेपालले क्यासेट र डिभिडी निकाल्ने भन्दै निर्माताहरूसँग सम्झौता गर्ने, तर ती गीत युट्युबमा राख्दा कपिराइट दाबी गर्दै आर्थिक शोषण गर्ने गरेको छ । उसले विनास्वीकृति चलचित्रका हजारौँ गीतमा कपिराइट दाबी गरेर कमाइ गर्दै आएको छ । संगीतकर्मी र चलचित्रकर्मीलाई शोषण गर्दै आएको म्युजिक नेपालको मासिक कमाइ एक करोड रुपैयाँभन्दा बढी रहेको एक निर्माताले बताए ।

निर्माता संघका पूर्वअध्यक्ष युवराज लामाले म्युजिक नेपालको चरम शोषणमा आफू पनि परेको बताए । ‘पहिला म्युुजिक नेपाललगायतका संस्थालाई क्यासेट, सिडी बिक्री गर्न भनेर दिने गरिन्थ्यो । अहिले सिडीको ठाउँमा आगामी पचास, सय वर्षसम्म आउने प्रविधिमाथि उहाँहरूले सोध्दै नसोधी व्यवसाय गरिरहनुभएको छ । मनग्य कमाइरहनुभएको छ । क्यासेट र सिडीबाहेक पेनड्राइभमा बजाउने अधिकार पनि उहाँहरूलाई छैन । इन्टरनेट त परै जाओस्,’ उनले भने ।

म्युजिक नेपालले चलचित्रका गीतका क्यासेट र सिडी निकाल्न भनी अधिकार लिने, तर पछि ती चलचित्रका गीतलाई युट्युबमा राखेर कपिराइट क्लेम गर्दै आएको छ । यस्तै मारमा निर्मात्री तथा नायिका श्वेता खड्का पनि परेकी छिन् । श्वेताले अभिनय गरेको पहिलो चलचित्र ‘कहाँ भेटिएला’ फिल्मको गीतको म्युजिक नेपालले क्यासेट र सिडी निकाल्न अधिकार लिए पनि पछि युट्युबमा राखेर कमाइ गर्दै आएको छ ।

‘कहाँ भेटिएला’ मेरो पहिलो डेब्यु फिल्म हो । सन् २०१४ मा म्युजिक नेपालले युट्युबमा अपलोड गरेको रहेछ । युट्युब च्यानलमा ‘प्रोभाइडेड बाई ओएसआर डिजिटल प्रालि’ भन्ने छ । तर, सबै कपिराइट म्युजिक नेपालको छ । यसरी सबै कपिराइट कसरी म्युजिक नेपालको भयो ? थाहा छैन,’ श्वेताले भनिन्, ‘उहाँ (श्रीकृष्ण श्रेष्ठ) हुँदै दिनुभएजस्तो लाग्छ । त्यसवेला युट्युबकै लागि भनेर थियो दिइएको जस्तो लाग्दैन ।’

‘नुमाफुङ’ चलचित्रका निर्देशक नवीन सुब्बाले म्युजिक नेपालसँग कानुनी लडाइँ लड्ने तयारीमा रहेको जानकारी दिए । आफूहरूसँग कुनै सम्झौता नै नगरी ‘नुमाफुङ’ चलचित्र म्युजिक नेपालले युट्युबमा राखेको उनको भनाइ छ । ‘म्युजिक नेपालले ‘नुमाफुङ’ युट्युबमा अपलोड गरेको छ, तर हामीसँग सम्झौता नै गरेको छैन । त्यत्तिकै युट्युबमा हालिदिएको छ । अब सम्झौता नै नगरेपछि रोयल्टी पाउने कुरै हुन्न । हामी कानुनी लडाइँ लड्ने तयारीमा छौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

‘बलिदान’ चलचित्रका निर्माता श्यामकुमार सापकोटा पनि म्युजिक नेपालबाट ठगिएका छन् । उनले म्युजिक नेपाललाई चलचित्रको गीतको क्यासेट निकाल्न अधिकार दिएका थिए । तर, उसले सोध्दैनसोधी युट्युबमा चलचित्र अपलोड गरेकोे सापकोटा बताउँछन् । ‘०५२ सालमा चलचित्रको गीत रेकर्ड गराएर म्युजिक नेपाललाई अधिकार दियौँ । तर, त्यो अधिकार अडियो क्यासेट र सिडीका लागि मात्र थियो । आर्थिक वर्ष सकिएपछि हिसाब–किताब क्लियर गर्ने सम्झौता भएको थियो । वार्षिक कति क्यासेट बिक्री भए थाहै भएन । पाँच–सात वर्षपछि त मलाई खबर नै गर्न छाडे । वास्तविक रोयल्टी पनि देखाइएन अनि पछि मैले पशुपति रेकर्डस्लाई डिभिडी, भिसिडी बनाउने अधिकार दिएँ,’ सापकोटाले भने ।

निर्माता निर्देशक सम्झना रौनियारको पीडा पनि उस्तै छ । ‘मेघा’ चलचित्रमा गोपाल योञ्जनको गीत राख्दा भिडियोको समेत कपिराइट दाबी गर्दै म्युजिक नेपालले आफूहरूको कमाइ खाएको उनको गुनासो छ । गोपाल योञ्जनका गीतको अडियोराइट मात्र लिए पनि भिडियोको समेत रहेको भन्दै युट्युबमा राखेर ६ महिनाको कमाइ म्युजिक नेपालले खाइदिएको उनको भनाइ छ ।

‘मेघा’ फिल्म बनाउने तयारीमा थिएँ । कथा तयार भएपछि केही गीत गोपाल योञ्जन दाइको संगीत र शब्दमा भएको पुरानो गीत राख्ने कुरा भयो । गोपाल योञ्जन दाइकी श्रीमती रेन्छिन योञ्जन दिदीलाई सम्पर्क गर्‍यौँ । गोपाल दाइका गीतहरूको कपिराइट अधिकार उहाँसँग थियो । म्युजिक नेपालले गीतका अडियोराइट मात्र लिएको रहेछ ।

हामीले सम्झौता गरेरै गीत रेकर्ड गरायौँ,’ उनले भनिन्, ‘चलचित्रमा गीत राख्न एकपटक म्युजिक नेपाल पनि गयौँ । गीतको अडियोको कपिराइट अधिकार मात्र म्युजिक नेपालमा हो भनेर थाहा पाएपछि हामीले गीत चलचित्रमा राख्यौँ । चलचित्र हलमा रिलिज भएपछि युट्युबमा राख्यौँ । तर, म्युजिक नेपालले कपिराइट दाबी गर्‍यो । त्यसपछि म्युजिक नेपालसँग तीन–चारपटक मिटिङ बस्यौँ । तर, हाम्रो चलचित्र युट्युबमा ६ महिना सस्पेन्ड गरिदियो । ६ महिनाको कमाइ पनि उनीहरूले नै खाइदिए ।’

नुमाफुङ’ को सर्वाधिकार हाम्रो, युट्युबको कमाइ म्युजिक नेपालको पदम सुब्बा, निर्माता
०५६ सालमा ‘मेन्छ्याएम पिक्चर्स’ दर्ता गरेर हामीले ‘नुमाफुङ’ बनायौँ । ०५८ सालमा फिल्म सकिँदा ८० लाख खर्च भएको थियो । त्यसवेला डिजिटल बजार यति ठूलो हुन्छ भन्ने थाहा थिएन । तर, अचानक सन् २०१४ मा म्युजिक नेपालले अधिकारविनै ‘नुमाफुङ’ युट्युबमा अपलोड गर्‍यो । जुन फिल्मको सम्पूर्ण कपिराइट हाम्रो कम्पनीसँग मात्र छ । केही समयअघि मैले सोधेको थिएँ, त्यो वेला ‘अर्कै मान्छेले बेचेको हो’ भनियो । कसले कसरी किन र के कारणले बेच्यो थाहा छैन । अहिलेसम्म न कुनै डाटा दिएको छ, न त कुनै आधिकारिक जानकारी र सम्झौता नै गरेको छ । म्युजिक नेपालले सबै राइट आफ्नो बनाएको छ, त्यो कसरी सम्भव भयो ?

सम्झना उप्रेती रौनियार, निर्देशक
म मेघा फिल्म बनाउने तयारीमा थिएँ । फिल्मको कथा तयार भएपछि गोपाल योन्जन दाइको संगीत र शब्दमा भएका केही गीत राख्ने कुरा भयो । हामीले गोपाल दाइकी श्रीमती रेन्छिन योन्जन दिदीलाई सम्पर्क गर्‍यौं । गोपाल दाइका गीतहरूको कपि राइट उहाँसँग थियो । गीतहरू म्युजिक नेपालले लिएको थियो । म्युजिक नेपालले अडियोको राइट मात्र लिएको रहेछ ।

अनि हामीले रेन्छिनसँग सम्झौता गरेरै गीत रेकर्ड गरायौं । फिल्ममा गीत राख्न एकपटक म्युजिक नेपाल पनि गयौं । अडियोको कपी राइट अधिकार मात्र म्युजिक नेपालमा रहेको थाहा पाएपछि हामीले गीत फिल्ममा राख्यौं ।

फिल्म रिलिज भएपछि युट्युबमा राख्यौं । तर अचम्म, म्युजिक नेपालले कपी राइट दाबी गर्‍यो । त्यो पनि दुईपटकसम्म । हामी म्युजिक नेपालसँग तीन/चारपटक मिटिङ बस्यौं । हाम्रो फिल्म युट्युबमा ६ महिना सस्पेन्ड गरिदियो । ६ महिनाको कमाइ पनि उनीहरूले नै खाइदिए । खाओस् भनेर छाडिदियौं । ६ महिनापछि फेरि फिल्म खोलिदिए । त्यसपछि युट्युबबाट आउने आम्दानी देखिन थाल्यो । तर, त्यसको पनि ६ महिनापछि फेरि कपी राइट हानिदिए ।

कपीराइट हानेको बारे कुरा गर्दा म्युजिक नेपालले फिल्म आफूहरूलाई दिनु भन्ने सर्त राख्यो । तर, मैले ‘फिल्म त दिन्नँ, बरु युट्युबबाट नै निकालेर फालिदिन्छु’ भनेँ । अनि मात्र कपी राइटबाट जोगियौं । म्युजिक नेपाललगायत केही कम्पनीले युट्युबसँगै सम्झौता गरेर कपी राइटको सिस्टम बनाएका छन् । सर्जकले आफ्नो सृजना आफैं हाल्न खोज्यो भने पनि कमाइ स्वतः आधा हुन्छ । यो त सृजनामाथिको कुठाराघात हो ।

स्वेता खड्का, नायिका
‘कहाँ भेटिएला’ मेरो डेब्यु फिल्म हो । त्यो फिल्म सन् २०१४ मा म्युजिक नेपालले अपलोड गरेको रहेछ । युट्युब च्यानलमा ‘प्रोभाइडेड बाइ ओएसआर डिजिटल प्राली’ छ । अनि सबै कपी राइट म्युजिक नेपालको छ । सबै कपि राइट कसरी म्युजिक नेपालको भयो थाहा छैन । उहाँ (श्रीकृष्ण श्रेष्ठ) ले दिनुभएजस्तो लाग्छ । र त्यो वेला युट्युबकै लागि भनेर थियो जस्तो लाग्दैन । किनभने त्यो जमाना क्यासेट सिडीको थियो । यो फिल्म युट्युबमा हालिएको छ । अहिले त पाँच वर्ष पूरा भइसक्यो । तर रोयल्टी दिएका छैनन् । फिल्मले कति कमायो या कति साइटहरूमा बेचिएको छ भन्ने पनि जानकारी छैन । फिल्ममा निर्माताले सबै लगानी गर्ने, घाटा सबै निर्माताले ब्यहोर्ने, फाइदा भने म्युजिक नेपालले लिने भइरहेको छ । त्यसविरुद्ध हामी कानुनी उपचारमा जाने योजनामा छौं ।

नवीन सुब्बा, निर्देशक
फिल्म ‘नुमाफुङ’ म्युजिक नेपालले युट्युबमा अपलोड गरेको छ  । तर हामीसँग सम्झौता नै गरेको छैन । यत्तिकै युट्युबमा हालिदिएको छ । अब सम्झौता नै नगरेपछि रोयल्टी पाउने कुरा त परैको भयो । अब भने हामी कानुनी लडाइँ लड्ने तयारीमा छौं ।

श्यामकुमार सापकोटा, निर्माता
‘बलिदान’को गीत ०५२ मा रेकर्ड गरायौं । म्युजिक नेपाललाई राइट दियौं । तर त्यो राइट, अडियो क्यासेट र सिडीका लागि मात्र थियो । आर्थिक वर्ष सकिएपछि हिसाबकिताब क्लियर गर्ने सम्झौता भएको थियो । तर पछि गएर रोयल्टीको हिसाब गर्दा लगानी जति पनि आएन । त्यसवेला नै मैले हिसाबकिताब दिनुस् भनेर मागेँ । तर उहाँहरूले ‘ल ल, दुईचार दिन लाग्छ’ भनेर टारे ।

पछि फिल्म रिलिज भयो । तर, मलाई खवर गरेनन् । रिलिज भएको पाँच सात वर्षपछि मैले नै गएर सोधे–कति रोयल्टी आएको छ ? जोसँग सम्झौता गरेको छ, उसँग वार्षिक हिसाबकिताब क्लोजिङ पनि छैन । तर हाम्रो बाध्यता फिल्म प्रचारप्रसार गर्ने एउटै विकल्प थियो, म्युजिक नेपाल ।

पछि मैले पशुपति रेकर्डस्लाई डिभिडी, भिसिडी बनाउने अधिकार दिएँ । हामीबीच सम्झौता भयो । अचानक म्युजिक नेपालको युट्युब च्यानलमा बलिदान फिल्म नै आएछ । एक वर्षपछि मैले थाहा पाए । अनि म्युजिक नेपाललाई प्रश्न गरे– ‘कहाँबाट पाएको अधिकार, मैले त गीतका लागि मात्र दिएको थिएँ ?’ उसको जवाफ आयो –‘तपाईले जसलाई डिभीडी, भिसिडी निकाल्न दिनुभयो, उहाँहरू (पशुपति रेकर्डस्)बाट लिएका हौं ।’ मैले भनेँ, ‘सम्झौता हेर्नुभाछ ?’ अनि पशुपति रेकर्डस्को अफिस गएँ । त्यहाँ मलाई भनियो, ‘पहिले नै कपी राइट लिएका छौं ।’ मैले सम्झौता पल्टाएर भनेँ, ‘कुन बुँदामा छन् भन्नुुस् । मैले तपाईंलाई डिजिटल स्ट्रिमिङमा अपलोड गर्ने अधिकार दिएको छैन । म मुद्दामा जाउँ ?’ यति भनेपछि उहाँहरूले भन्नुभयो, ‘यसो गरौं दाइ, एक वर्ष भयो अपलोड भएको, त्यो एक वर्षको पनि उतैबाट रोयल्टी लिनुस् ।’

मलाई मुद्दाको झण्झट बेहोर्नुभन्दा त्यही ठीक लागेर म्युजिक नेपालसँग सम्झौता गरेँ, ०७२ मा । युट्युबबाट रोयल्टी अलिअलि दिइरहेका थिए । कहिलेकाहीँ भने पीआरबीटीको पनि भनेर दिन्थे । मैले त यसको सम्झौता गरेको थिइनँ । कसरी दिनुभयो, त्यो थाहा छैन । त्यसपछि मैले खारेज गरिदिएँ । फिल्म बन्द भयो । तर पनि मेरो फिल्म विभिन्न च्यानलबाट आइरहेको छ । ती च्यानलबाट कसरी आइरहेको छ, छक्क छु ।

युवराज लामा, निर्माता संघका पूर्वअध्यक्ष
पहिला म्युुजिक नेपाल लगायतका संस्थालाई क्यासेट, सिडी बिक्री गर्नका लागि भनेर दिइने गरिन्थ्यो । आज उहाँहरू कता जानुभएको छ भने सिडीको ठाउँमा अबको पचास सय वर्षसम्म आउने प्रविधिमाथि उहाँहरूले सोध्दै नसोधीकन व्यवसाय गररहनुभएको छ । यो माफीया तन्त्र हो, लुटतन्त्र हो । जे गर्दा पनि हुन्छ ? हामी उहाँहरूलाई अदालतमा उभ्याउने तयारीमा छौं । हामी पाइरेसी मुद्दा हाल्ने तयारीमा छौं । उहाँहरूले जे जे गर्नुभएको छ, त्यसमाथि उसुलयउपर गर्ने नै छौं । क्यासेट र सिडी बाहेक पेन ड्राइभमा बजाउने अधिकार पनि उहाँहरूलाई छैन । इन्टरनेट त परै जाओस् ।

मेरा पनि धेरै सृजना मेरो विनास्वकिृति प्रयोग भइरहेको छ । म्युजिक नेपालले नै धेरै गीतहरू प्रयोग गरिरहेको छ । गीतहरू निर्देशक समाज/निर्माता संघको पूर्वअध्यक्ष भएको नाताले यो मेरो व्यक्तिगत कुरा मात्र होइन, संस्थागत कुरा हो । यसमा हामी सबै सर्जक लड्नछौं । (नयाँ पत्रीकाबाट)

WRITE COMMENTS FOR THIS ARTICLE