“म क्लब छाड्न चाहन्छु”: लिओनल मेस्सी

आर्जेन्टीनाका फुटबल खेलाडी लिओनल मेस्सीले उनले आफ्नो सम्पूर्ण व्यावसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्। उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताए। बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ। तर मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान पनि लम्बिने विश्वास गर्छन्।

यो महिनाको सुरुमा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना क्लबले बायर्न म्युनिखसँग ८(२ को लज्जाजनक हार बेहोरेको थियो। क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो। फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डोुर उपाधि छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्। यो अवधिमा उनले क्लबलाई चारपटक च्याम्पियन्स लिगको विजेता बन्न मद्दत गरे।

अब के हुन्छ ?
बार्सिलोना क्लबका अनुसार अहिलेको करार बमोजिम मेस्सी सन् २०२१ को अत्यसम्म क्लबसँग अनुबन्धित छन् र उनलाई कसैले किन्ने हो भने ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्छ।

क्लबको बोर्डको बैठक छिट्टै बस्नेछ। कतिपय ठान्छन् मेस्सीलाई मनाउने एकमात्र उपाय भनेको क्लबका अध्यक्ष जुजेप मरिआ बर्टोमेयोको राजीनामा र चाँडो चुनाव हुनसक्छ। तर मेस्सी कुनै पनि हालतमा क्लब छाड्ने मनस्थितिमा रहेको देखिन्छ। अब क्लब र खेलाडीबीच कानुनी लडाइँ हुनसक्छ। मेस्सीको करारमा उनले यदि जुन १० तारिखभन्दा पहिले जान चाहेको भए निशुल्क क्लबबाट बहिर्गमन गर्न सक्ने प्रावधान थियो।

त्यो मिति गुज्रिसक्यो। तर मेस्सी तथा उनको टोली ठान्छ कि लम्बिएको खेल सिजनका कारण सो मितिपनि लम्बिनुपर्छ। मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा आर्जेन्टीनाको नीवेल्स ओल्ड बोइजबाट बार्सिलोना क्लब पुगेका थिए। त्यसयता उनले क्लबका निम्ति ७३१ खेलमा कीर्तिमान ६३४ गोल गरेका छन्। क्लबका निम्ति उनले १० पटक ला लिगा उपाधि अनि चार पटक च्याम्पियन्स लिग उपाधिसहित ३४ वटा ठूला उपाधि जिताउन योगदान गरे। स्पेनको फुटबल प्रतियोगिता ला लिगामा सबभन्दा धेरै ४४४ गोल मेस्सीकै नाममा छ।

क्लबनिकट स्रोतले स्पेनिस संचारमाध्यमलाई उपलब्ध गराएको पत्र अनुसार मेस्सीले आफ्नो सम्झौतामा उल्लेख गरिएको प्रावधान अनुसार सम्झौता रद्द गर्न चाहेका छन् । मेस्सीले ब्युरोफ्याक्स मार्फत क्लबलाई पत्र पठाएका थिए । स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै मेस्सीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका हुन् ।

मेस्सीको पत्रमा यस्तो लेखिएको छ :

‘ यो पत्रको माध्यमबाट, म, लिओनेल आन्द्रेस मेस्सी कुचीटिनि, आइडी नम्बर (खालि) बाट, अनुरोध गर्दछुकी क्लबसँग रहेको मेरो व्यावसायिक सम्झौता रद्द होस् । सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रदान गरेको छ ।

मेरो व्यक्तिगत विकास र व्यावसायिक सम्बन्ध विकासका लागि क्लबले मेरो यहाँको बसाइभर दिएको अवसरप्रति म आभारी छु ।

मैले यहाँ प्राविधिक र व्यक्तित्व विकासमा धेरै कुरा सिक्ने अवसर पाएँ । अहिले भने व्यक्तिगत कारण (खालि) का कारण म कठिन निर्णय लिन बाध्य छु । मलाई आशा छ मलाई क्लब व्यवस्थापनले सहज रुपमा समन्वय गर्नेछ ।’

यस्तो छ पत्र 

WRITE COMMENTS FOR THIS ARTICLE