म स्वर्गमा बाँचिरहेछु

बरु नाचोस् भोको पेटको फाँटिलो मैदानमा
काल,अनिकाल र महाँकालका भुतहरु
या त थिचोस् नाङ्गो छातिको भिरालो पहरामा
पिडैपिडाको आकाशले
टिल्पिलाई रहुन् नयनका पोखरि
बरु रारा,फोक्सुण्डो र तिलिचो बोकेर
बगे बगुन् करङका कुलेसाहरुमा
कर्णाली, कोशि र गण्डकी
म अझै अग्लो र अटल भएर
सगरमाथा भन्दा अलि माथिबाट
गाईरहनेछु यो देशको गीत
म हिडुँला बरु दुखको महासागर बोकेर
या सहुँला मुटुमाथि बजारिएका प्रेमका ढुंगा
बनाउँला छाला च्यातेर वर्षातको छाता
सुतुँला महाकालि बिच्छाएर
मेचिको सिरानिमा ।
जसले जे भनुन्
जसले जे सुनाउन्
देश यो नेपाल स्वर्गै सरि छ
कसैले सोध्यो भने मेरो ठेगाना
भनिदिनुहोला
म बुद्ध भूमीमा छु
म स्वर्गमा बाँचिरहेछु ।

-सिपी संघर्ष प्रिया पत्थर

 

WRITE COMMENTS FOR THIS ARTICLE