‘मेरो कमिसन ३०० माथि हाकिमको कमिसन ५००’ भन्दै दलालको बार्गेनिङ : यातायात कर कार्यालय, सानो भर्याङ्ग

सरकारले लकडाउन जारी गरेको करीब ४ महिना पश्चात केहि क्षेत्र खुकुलो पारेको छ। बैंक, सरकारी कार्यालय लगायतका क्षेत्रहरुले आफ्नो सुविधा दिइरहेका छन्। कार्यालयहरु सञ्चालन भए पनि भौतिक दुरी भने कायम भएको छैन्। सेनिटाइजर त झन् आकाशको फल भएको छ। मानिसहरु निर्धक भएर माक्स समेत नलगाइ हिँड्न थालेका छन्।

यसै क्रममा आज हामी करीब ११ बजे तिर यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ्ग, स्वयम्भु पुगेका थियौं। सेवाग्राहीहरु एकआपसमा टाँसिएर लाइनमा बसेका थिए। अझ केहि सेवाग्राही त बिना माक्स लाइनमा बसेका छन्। जताजतै अव्यवस्थित पार्किङ। टोकन लिने ठाउँ सम्म पुग्‍न पनि मुस्किल। नो पार्किङ लेखिएको ठाउँमा निर्धक्क भएर सवारी साधन राखेका छन्।

हामी बाइक र स्कुटरको बिलबुक नविकरण गर्न गएका थियौं। करीब १०० जना जति सेवाग्राही टोकन लिएर लाइनमा बसेका थिए। त्यस्तै लाइन नबसी टोकन नलिइ बिलबुक नविकरण गर्ने सहज बाटो खोज्दै केही सेवाग्राही यताउता घुमिरहेका थिए।

हामी पुगेको केही बेरमा एकजना रातो ज्याकेट लगाएका व्यक्ति हाम्रो नजिक आए र भने, ‘बिलबुक नविकरण गर्न आउनु भएको हो?’

‘हामीले हो भन्यौं।’

हामीलाई  केही हतार भएको र सहज बाटो भए अलि छिटो गर्न सकिन्छ कि भनेर सोध्यौं।

उनले सहजै तेस्स्रो पक्ष बिमा नगरी बिलबुक नविकरण गर्ने कुरा बताए।

‘मेरो कमिसन रु ३०० अनि माथि हाकिमको कमिसन रु ५०० सहित तपाईको नविकरण कर रकम कति हुन्छ, त्यो मिलाएर दिनुहोला।’ उनले भने।

हामीले स्कुटरको कर रु २८५० अनि कमिसन रु ८०० समेत गरेर जम्मा रु ३६५० तिर्नु पर्ने भयो र काम पनि पन्ध्र मिनेट मै सकिने सहमति भयो। सो कमिसन चलखेल बारे कार्यालय प्रमुखसँग हिमाल दर्पणले बुझ्‍न खोज्दा प्रमुखले कुरा खोल्न चाहेनन्। धेरै पछि कर कार्यालय खुलेका कारण अलि व्यवस्थापनमा चुनौती मात्र थपिएको हो अरु त्यस्तो केही नभएको बताए।

यातायात नियमावली अनुशार तेस्त्रो पक्ष बिमा नगरी बिलबुक नविकरण गर्न नमिल्ने व्यवस्था छ। सो नियमको मजाक बनाउँदै सानो भर्याङ्ग कर कार्यालयमा दलालहरु सक्रिय भएका हुन्।

हुनत सानो भर्याङ्ग कर कार्यालय पटक-पटक विबादमा तानिदै आएको छ। केही समय अगाडी मात्र कार्यालय हाताबाट १३ हजार रुपैयाँ घुससहित अधिकृत शिवलाल पौडेल पक्राउ परेका थिए। सेवाग्राहीको सुविधा भन्दा पनि कमिसनको चक्करमा कर कार्यालय सार्ने गरेको भन्दै कार्यालय प्रमुखलाई बारम्बार आरोप लाग्‍ने गरेको छ। सबै सेवासुविधा भएको र मापदण्ड पुगेको भवन छाडेर बन्दै गरेको टहरा भएको ठाँउमा कार्यालय सरेको हो। दलालहरुबाट आउने कमिसनको लोभमा प्रमुखले कार्यालय सारेको कुरा भित्रकै कर्मचारीले नाम नखुलाउने सर्तमा हामीलाई बताए।

सरकारी कर्मचारी पनि केही थाहा नभए जस्तो रमिते भएर सो भद्रगोल हेरीराखेका छन्।

 

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE