युरोपा लिग:स्पार्टा प्रागुएमाथि एसी मिलानको ३-० को सहज जित…

इटालियन सिरी ए क्लब एसी मिलानले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा मिलानले स्पार्टा प्रागुएमाथि ३-० को सहज जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, राफेल लेआओ र डियागो डालोटले एक-एक गोल गरे ।

खेलको २४औं मिनेटम ब्राहिमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० ले अगाडि बढाएका थिए ।

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा खेलको ५७औं मिनेटमा राफेलले गोल गरेका थिए । उनले डालोटको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारेका थिए । त्यस्तै ६६औं मिनेटमा डालोटले गोल गरे । मिलानका डिफेन्डर डालोटले बेन्नासरको पासमा गोल गर्दै घरेलु टोलीलाई ३-० को सहज जित दिलाए । यस जितसँगै समूह एचमा रहेको मिलानले लगातार दोस्रो जित निकालेको छ । सुरुवाती दुई खेलमा जित निकालेको मिलान ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । पराजित स्पार्टा भने अंकविहीन हुँदै समूहको पुछारमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE