युरोपा लिग: आर्सनल र टोटनहामको फराकिलो जीत…

युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा तीन इंग्लिस क्लब लेस्टर सिटी, आर्सनल र टोटनहामले फराकिलो जीत हासिल गरेका छन् । आर्सनलले मोल्डेलाई ४-१, लेस्टरले ब्रागालाई ४-० र टोटनहामले लुडोगोरेट्सलाई ३-१ गोलअन्तरले हराएका हुन् । आर्सनलको जीतमा निकोलस पेपे र जो विलकले १-१ गोल गरेका थिए भने दुई गोल उपहार पाएको थियो । मोल्डेका लागि इलिङसेनले १ गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने मोल्डेले लिएको थियो । २२औं मिनेटमा इलिङसेनले गोल गरेका थिए । इन्जुरी समयमा क्रिस्टोफर हाउगनले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । खेलको ६२औं मिनेटमा सिनयानले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा अग्रता लियो । त्यसपछि ६९औं मिनेटमा पेपे र ८८औं मिनेटमा विलकले गोल गर्दै आर्सनलको ४ १ को जीत सुनिश्‍चित गरे ।

त्यसैगरी लेस्टर सिटीको ४-० को जीतमा केलेची इहियानाचोले २ तथा डेनिस प्रायट र जेम्स म्याडिसनले १-१ गोल गरे । खेलको २०औं मिनेटमा इहियानाचोले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पनि दोब्बर पारे ।

६७औं मिनेटमा सब्सचिट्युट खेलाडी डेनिस प्रायटले गोल गरेपछि लेस्टर ३-० ले अघि बढ्यो । ७८औं मिनेटमा म्याडिसनले गोल गरेपछि लेस्टरको ४-० को जीत पक्का भएको थियो । यता टोटनहामले लुडोगोरेट्सलाई ३-१ ले हराउने क्रममा ह्यारी केन, लुकास मोउरा र जियोभानी लो सेल्सोले १-१ गोल गरेका थिए । लुडोगोरेट्सका तर्फबाट केसेरुले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा केनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा लुकासले गोल गरेपछि टोलीको अग्रता दोब्बर भएको थियो । ५०औं मिनेटमा लुडोगोरेट्सका केसेरुले १ गोल फर्काए । त्यसपछि ६२औं मिनेटमा लो सेल्सोले गोल गर्दै टोटनहामलाई ३-० ले अगाडि बढाए । त्यसपछि थप गोल भएनन् र टोटनहाम ३-१ ले विजयी भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE