“युवा स्ट्राइकर हाल्यान्ड क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्न सक्छन्”: लिजेन्ड पाउल

बेलायतका फुटबल लिजेन्ड पाउल स्कोल्सले युवा स्ट्राइकर इर्लिङ हाल्यान्ड विश्व फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्न सक्ने विश्वास व्यक्त गरेका छन् । बोरुसिया डर्टमन्डका २० वर्षका स्टारले बुन्डेसलिगा क्लबका लागि १४ लिग म्याचमा सनसनीपूर्ण प्रदर्शन गर्दै १७ गोल गरेका थिए ।

हाल्यान्ड गत जनवरीमा मात्रै रेड बुल साल्जबर्ग छोडेर डर्टमन्डमा भित्रिएका हुन् । त्यसयताका १० महिनामा उनको प्रदर्शन लोभलाग्दो छ । हाल्यान्डले यसै साता नर्वेका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पनि पूरा गरे । नेसन्स लिगमा उनले रोमानियाविरुद्ध उक्त ह्याट्रिक गरेका थिए ।

हाल्यान्डले डर्टमन्डलाई छनोट गर्नुअघि उनीमाथि म्यान्चेस्टर युनाइटेडले पनि चाख देखाएको थियो । आफ्नो पुरानो क्लबले जाडोन सान्चोभन्दा हाल्यान्डलाई नै जसरी पनि तान्नुपर्ने बताउँछन् स्कोल्स ।

‘मलाई लाग्छ हाल्यान्ड एक सनसनी हुन्,’ उनले स्टेडियम एस्ट्रोसित भने, ‘अहिलेसम्म उनलाई नियालेको आधारमा भन्न सक्छु कि उनले भविष्यमा रोनाल्डोको स्तरमा आफूलाई उभ्याउन सक्छन् ।’ हाल्यान्डलाई छोडेर सान्चोलाई रोज्नु म्यान्चेस्टरको गलत निर्णय भएको उनले बताए । सान्चोकै शैलीका अन्य तीन खेलाडीहरु पहिल्यै टिमसँग भएको उनको तर्क छ । ‘१० करोड पाउन्ड खर्च गर्दा सही निर्णय लिइयो जस्तो मलाई लाग्दैन । उनी (सान्चो) कमजोर खेलाडी होइनन्, तर यो वर्ष चाहिँ म्यान्चेस्टरलाई उनको आवश्यकता थिएन ।’

 

 

WRITE COMMENTS FOR THIS ARTICLE