यो सिजन युभेन्टसमा उच्च प्रदर्शन गर्ने रोनाल्डोको बाचा

क्रिष्टियानो रोनाल्डो  युभेन्टसमा नयाँ सिजनको कडा अभ्यासमा व्यस्त छन्। इटालियन महारथी युभेन्टससँग चार वर्षे सम्झौताको तेस्रो सिजनका रोनाल्डो पूर्ण प्रतिबद्ध भएको बताउँछन्।

उनले बिहीबार समाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, ‘‘युभेन्टसमा मेरो तेस्रो सिजनका लागि म तयार छु। मेरो इच्छा र महत्वकांक्षा सदा झै उच्च छ। गोल, जित, प्रतिवद्धता, समर्पण र व्यवसायिकता। यी सबै मेरा शक्ति हुन र युभेन्टसको सहयात्री, स्टाफहरूको साथमा फेरि एक हामी इटालीमा प्रभुत्व जमाउन चाहन्छौं। इटालीमा मात्र होइन, युरोपा र विश्वमै पनि।’’

३५ वर्षे रोनाल्डो युभेन्टसमा अनुबन्ध भइसकेपछि दुई सिजन सिरी ‘ए’ को उपाधि जितिसकेका छन्। तथापी रोनाल्डोले क्लबलाई च्याम्पियन्स लिग जिताउन भने सकेका छैनन्। रोनाल्डो आएपछि युभेन्टस गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनसँग पराजित भएर बाहिरिएको थियो भने अघिल्लो सिजन आयाक्ससँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

‘‘कीर्तिमान तोड्न, अवरोध पन्छाएर उपाधि जित्नुका साथै व्यक्तिगत लक्ष्य हासिल गर्न तथा फेरि एकपटक उच्च प्रदर्शन गर्दै सबै चुनौतीमाथि विजय हासिल गर्न चाहन्छौं,’’ रोनाल्डोले लेखेका छन्। उनले गत सिजन सबै खाले प्रतियोगिताका ४६ खेलमा ३७ गोल गरेका थिए। इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बर १९ बाट शुरु हुनेछ।

‘‘हरेक नयाँ वर्ष पहिलेभन्दा चुनौतीपूर्ण हुन्छन्। तर हामी समर्थक र शुभचिन्तकका लागि सधै जित्न चाहन्छौं,’’ रोनाल्डो थप्छन्, ‘‘युभेन्टस यो अनौठो र अद्धितीय जोशको बाहक हो। यस क्लबको इतिहासलाई जिवन्त राख्न, यसको उचाई र मानकलाई कायम राख्न सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं।’’

 

WRITE COMMENTS FOR THIS ARTICLE