‘रअ’ प्रमुख गोयलको गोप्य भेटघाट, अगुवा पछुवा समेत नराखी वरिष्ठ नेताहरु भेटवार्तामा सामेल

विशेष विमानबाट काठमाडौं ओर्लेको केही घण्टापछि नै भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन्।

कुटनीतिक स्वीकृति लिएर बुधबार करिब पौने एक बजे गोयल विशेष विमानबाट आफ्नो नौ सदस्यीय टोलीसहित काठमाडौं ओर्लेका थिए। उच्च सुरक्षा स्रोतहरूका अनुसार लगत्तै काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिका होटलमा चेकइन गरेर केही समय आराम गरेका उनी त्यसपछि लैनचौरस्थित भारतीय दूतावास गएका थिए।

सुरक्षा स्रोतहरूले गोयलका लागि द्वारिका होटलमा कोठा बुक गरिएको बताएका छन्। तर होटल हायातका उच्च तहका कर्मचारीहरूले भने हायातमा गोयलको टोलीका लागि सुनिल गोयलको नाममा दुई वटा स्वीटसहित ८ वटा कोठा बुक भएको र उनीहरू दिउँसो २ बजे त्यहाँ पुगेको दाबी गरेका छन्। अर्का एक सुरक्षा अधिकारीले भने गोप्य भेटघाटको प्रयोजनका लागि दुई वटै होटलमा केही कोठा बुक भएको हुनसक्ने बताए।

दिउँसो करिब साढे ४ बजे गोयलले सोल्टी होटल पछाडिको एउटा घरमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ नेता तथा अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेको बेग्लाबेग्लै सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन्।

प्रचण्ड करिब सवा ४ बजे नीजि सुरक्षाकर्मी मात्र लिएर खुमलटारबाट निस्केका थिए र आफ्नो सचिवालयका सदस्यलाई पनि सम्भावित भेटबारे जानकारी दिएका थिएनन्।

‘सचिवालयका सहयोगी समेत नलिइ खुमलटारबाट निस्केका प्रचण्ड कहाँ गए भनेर चर्चा हुँदै गर्दा सोल्टी होटल पछाडिको घरमा गोयलसँग भेटवार्ता भएको जानकारी आयो’, एक सुरक्षा अधिकारीले भने।

सुरक्षा स्रोतहरूले माधव नेपालसँग पनि गोयलले सोल्टी पछाडिको त्यही घरमा भेटेको तर प्रचण्ड र नेपाल सँगसँगै भेटवार्ता भयो वा छुट्टाछुट्टै भन्ने प्रष्ट भइनसकेको जनाएका छन्।

सोल्टी पछाडिको घरमा भएको त्यो भेटपछि प्रचण्ड र नेपाल फेरि द्वारिका होटल पुगेको र त्यहाँ गोयलसँग थप कुराकानी भएको सुरक्षा स्रोतहरूको दाबी छ। राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने द्वारिकामा चाहिँ प्रचण्ड, नेपाल र गोयलबीच सामुहिक भेट भएको दाबी गरेका छन्।

प्रचण्ड र माधव नेपालको सचिवालयका सदस्यले भने गोयलसँग भएको भेटघाटबारे पुष्टि गर्न चाहेनन्। प्रचण्डको सचिवालयका एक सदस्य र माधव नेपालका स्वकीय सचिवले यस्तो भेटबारे थाहा नभएको दाबी गरे।

नेपाल सरकारका कुनै पनि निकायले गोयलको आकस्मिक नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएका छैनन्। कार्तिक १८ गतेदेखि हुने तय भएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको तयारीको क्रममा गोयल नेपाल आएको अनुमान गरिए पनि केही सुरक्षा विश्लेषकहरूले त्यसलाई अस्वीकार गरेका छन्।

‘सेना प्रमुखको भ्रमण औपचारिक हो र त्यसको तयारी दुई देशका सेनाबाट नै हुन्छ’, नेपाली सेनाका एक जना पूर्व जर्नेल भन्छन्, ‘गोयल कि भारतीय राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएका हुन् कि त दिल्लीले आफ्नो प्रभाव देखाएर काठमाडौंलाई राजनीतिक सन्देश दिन यो भ्रमण भएको हो।’

सुरक्षा विज्ञ तथा सांसद दीपकप्रकाश भट्टले भने भारतीय सेना प्रमुखको भ्रमणको तयारीको क्रममा नै गोयल नेपाल आएको हुनसक्ने उल्लेख गरे।

आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुरमा रहेका भट्टले फोनमा भने, ‘मलाई धेरै जानकारी त भएन तर गोयलको भ्रमण भारतीय सेना प्रमुखको भ्रमणका एजेण्डासमेत तय गर्ने गरि भएको हुनुपर्छ।’

सुरक्षा अधिकारीहरूका अनुसार बिहीबार बिहान ९ बजे दिल्ली फर्किन विमानस्थल पुग्ने कार्यक्रमअनुसार गोयलले बुधबार रातीसम्म धेरै भेटवार्ताका कार्यक्रम सक्नेछन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोयलले संभवतः बुधबार राती भेटवार्ता गर्नेछन्’, एक सुरक्षा अधिकारीले भने, ‘अघिल्लो पटक नेपाल आउँदा प्रधानमन्त्री ओलीसँग भेट्न गोयल राती १ बजे बालुवाटार निवासमा प्रवेश गरेको भन्ने छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफुलाई गोयलको भ्रमण र काठमाडौंमा उनले गर्ने भेटवार्ताहरूबारे खासै जानकारी नभएको बताए।

‘को कसले अगुवा पछुवा समेत नराखी कहाँ कहाँ गएर भेटवार्ता गरे भन्ने सुनिन्छ तर, मलाई थाहा भएन’, थापाले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने।

राष्ट्रिय अनुसन्धान विभागका अर्का एक अधिकारीले प्रचण्ड र नेपालसँग भेटेपछि गोयल होटल हायात गएको र त्यहाँ नेपाली कांग्रेसका नेताहरू, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको बताए।

सुरक्षा स्रोतहरूका अनुसार गोयलको भेटघाटको सूचीमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र शशांक कोइराला, जसपाका नेता भट्टराई र महन्थ ठाकुर लगायत थिए।

होटल हायातका अर्का एक कर्मचारीले उक्त होटलमा नेताहरूसहित नेपाली सेना र नेपाल प्रहरीका प्रमुख तथा अन्य उच्च सुरक्षा अहिकारीहरूसँग गोयलले रात्रीभोजसहित भेटवार्ता गरेको जनाए।

‘भेटमा जसलाई निम्त्याइएको छ ती बाहेक कोरोनाको कारण देखाउँदै होटल हायातको गेटबाट कसैलाई भित्र छिर्न दिइएको छैन’, ती कर्मचारीले भने।

आठ घन्टाका लागि मात्रै काठमाडौं आएको र राती ९ बजे दिल्ली फर्कने भनिएपनि गोयल बुधबार काठमाडौंमै बसेका छन्। बिहीबार बिहान ९ बजे उनी दिल्ली फर्कने कार्यक्रम छ तर भेटभाटका कार्यक्रम लम्बिएको अवस्थामा दिउँसो मात्रै फर्कन सक्ने सुरक्षा स्रोतहरूले जनाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE