रासायनिक मल वितरणमा बदमासी, किसान रित्तै फर्किन बाध्य

गोरखा- गण्डकी गापा घ्याल्चोकका किसानले मागे अनुसार मल पाएका छैनन्। युरिया मल नपाएपछि किसान आक्रोशित भएका छन्। एक बोरा युरिया मल ३ घरलाई बाँड्ने जानकारी पाएर सहकारी पुगेका, नरहरी पौडेल करीब २ घण्टा लाइन बसेपछि रितै घर फर्किएका हुन् । सहकारीमै मल सकिएपछि पौडेलले नपाएका हुन् । घन्टौं लाइन बसे पनि किसानले माग अनुसार मल पाउन सकेका छैनन्। तरकारी र मकैमा मल हाल्ने बेला हुँदासमेत अनुदानमा प्राप्त हुने युरीया मल नपाउँदा किसान मर्कामा पर्ने गरेका छन् ।

वितरणमा बदमासी हुँदा करीब ८०० किसान रित्तै फर्किनु परेको हो । सहकारीले लकडाउनको बेवास्ता गरी मल बाँड्ने सुचना दिँदा हजारको संख्यामा किसान भेला भएका थिए । भेला भएका करीब २०० जना किसानले मात्र युरीया मल पाएका छन् । घ्याल्चोक सामुहिक तरकारी उत्पादक सहकारीले लेराएको १४० बोरा युरीया मल वितरणमा बदमासी हुँदा किसान खाली हात फर्किएका हुन् । सो क्षेत्रमा २ हजार बोरा रासायनिक मल आवश्यक छ ।

सरकारी निकायको गैरजिम्मेवारीले बजारमा रासायनिक मलको अभाव भएको छ। अनुदानको रासायनिक मल आयात गरेर बिक्री वितरणको जिम्मेवारी पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी जिम्मेवारीमा चुक्दा युरिया मल अभाव भएको हो। गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन् ।

सरकारले रासायनिक मलमा करिब ६ करोड रुपैयाँ अनुदान दिँदै आएको छ। बाली लगाउने सिजनमा रासायनिक मलको अभाब हुन नदिन कृषि तथा जलस्रोत समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। जमिनको आधारमा नेपालमा रासायनिक मलको माग करिब सात लाख ८५ हजार मेटि्रक टन आवश्यक भए पनि कम प्रयोग गर्ने गरेका छन्। तराइको अनुपातमा पहाडी तथा उच्च हिमाली जिल्लामा पनि रासायनिक मलको प्रयोग दर कम छ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE