रूपचन्द्रको “थाहा” आन्दोलन

नेपाली समाजले मान्छेलाई चिन्न सकेन, सकिरहेको पनि छैन । भोलिको कुरा आजै गर्ने भविष्यवाणीकर्ताको बिल्ला भिरिएला कि भन्ने त्रासले भोलि नेपाली समाजले के गर्छ त्यो भने आजै भन्नु उचित नहोला । आजको नतिजाले भोलिको संकेत गर्छ । विद्वत्ताको कदर गर्ने दिन नआउन्जेल हामी थाहा नपाइकनै जन्मन्छौं र थाहा नपाइकनै मर्छौं । यस सानो लेखमा ‘थाहा’ आन्दोलनका प्रणेता राजनीतिज्ञ कम र दार्शनिक बढी ठानिएका व्यक्तित्व रूपचन्द्र विष्ट र उनको थाहा आन्दोलनलाई आजको सन्दर्भमा घोटेर केलाउन खोजिएको छ ।

नन्दलाल आचार्य / पञ्चायती शासनकालको अन्धकारमय समयमा शासक मस्ती लुटिरहेका थिए भने जनता अबुझ खसीबोकाझैं डोहोरिइरहन्थे । उनीहरू शासकको स्वार्थको जालमा अल्झिएका थिए । एक हिसाबले नबुझेर जनतालाई त्यही मज्जा लागेको थियो । आफ्नो हैसियत र सामथ्र्यबाट जनता अनविज्ञ थिए । केही जागरुक नेपाली मुक्तिको द्वार खोजिरहन्थे ।

जसरी आफ्नो नाइटोको बिनालाई चिन्न नसकेर र त्यसको वासनामा लोभिएर मृग रनवन डुल्दै बिना खोज्छ, त्यसैगरी, जागरूक नेपाली रनवन डुल्दै थिए । ती अनगिन्ती नेपालीमध्येका रूपचन्द्र विष्ट त्यस्ता नेपाली हुन् जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक बन्न सकेनन् । मकवानपुर जिल्लामा कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर पनि कृषिक्रान्तिका अभियन्ता मानिएनन् ।

आफ्नै र जनताको जनश्रमदानद्वारा पालुङको जनकल्याण मावि बनाउँदा उनी शिक्षासेवी वा समाजसेवी कहलिएनन् । मात्र हन्डर खाए, राज्यस्तरबाट चोट पाए । बौद्धिक कहलिएका राजनितिज्ञहरूको सोचमा सन्की स्वभाव, तामसी र पागलपनले मात्तिएको व्यक्ति भन्ने दर्जा पाए । उनका हरेक क्रियाकलाप सत्यमा आधारित र जनकल्याणले ओतप्रोत भएका थिए । उनका विचारको हिजो पनि खाँचो थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ । उनी सदावहार राजनीतिज्ञ, दार्शनिक, कृषि अभियन्ता, समाजसेवी, शिक्षासेवी र जनप्रिय एवं सम्मानीय राजनेता हुन् भन्ने कुरा उनका निम्न क्रियाकलाप र विचारले पुष्टि गर्छ ।

उनको यो कवितांश ०३९ सालको स्थानीय चुनावको पर्चामा लेखिएको थियो । हामी यिनै पंक्तिलाई मूल्यांकन गर्दा पनि उनमा कवित्व भावना प्रशस्त पाउँछौं । वैचारिक विशालता भेट्छौं । सत्यको पक्षमा वकालत गर्ने यस युगका विदुरका रूपमा उनलाई भेट्छौं ।

०३९ सालकै पर्चामा छापिएको यो सदावहार कवितांशबाट समेत उनी सत्य बक्ने, प्रखर दूरदृष्टि भएका विचारक हुन् भन्ने कुरा सिद्ध हुन्छ । उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिएका छन् । व्यवस्थाले नै देश र जनतालाई खाएको कहिरन उतारेका छन् । खराव मन भएकाबाट असल काम होला भनी सोच्नु दिवास्वप्ना भएको कुरा उल्लेख गरेका छन् ।

३. पूरापुरी उनले तीन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो,… निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनीतिक र सामाजिक जागरण ल्याउनु । पक्ष वा विपक्षमा उभिएर काम गर्न सजिलो हुन्छ तर त्यो निष्पक्ष हुँदैन । कुनै पनि सिद्धान्तको पक्ष वा विपक्षमा उभिएर काम गर्दा त्यसको अघि वा पछि ठूलो भीड एकत्रित हुन्छ ।

त्यसमा आग्रह वा पूर्वाग्रहले ओतप्रोत भई कार्य गर्नै पर्छ । यसो गर्दा आफ्नो विवेक गुमाएर मात्र कार्य सम्पादन गर्न सकिन्छ । यसो गर्दा पाइने प्रतिफलसमेत निष्पक्ष हुँदैन । तसर्थ, हामीले कुनै क्षेत्रमा रहेर कार्य गर्दा निष्पक्ष भएर आफ्नै विवेक र बरबुताले गर्न सक्यौं भने त्यो सर्वस्वीकार्य सावित हुन्छ । सत्यको राजधानीमा देर हुन्छ तर अँधेर हुन्न । सत्य कुरालाई चाँडै पचाउन वा अपनाउन नसकिएला तर कालान्तरमा त्यो सर्वत्र पुजनीय बन्दछ ।

सुकरातहरू, ओशोहरू, चाल्र्स डार्बिनहरू, तुलसीमेहरहरू सुरुमा कसैका आँखामा सत्य थिएनन्, अहिले उनीहरूलाई लोकले श्रद्धा गर्छ । लक्ष्मीप्रसादहरूले दरिद्र र राज्यद्वारा अपहेलित जीवन भोगेर मरे । अहिले उनीहरूकै जगमा उनीहरूकै नाम बेचेर लक्ष्मीपति बनेर राज्यबाट सम्मानित जीवन भोग्नेहरू धेरै छन् । तसर्थ रूपचन्द्र विष्ट दूरद्रष्टा थिए, वीर थिए, सत्य र न्यायका हिमशैल थिए भन्न हिच्किचाउने ठाउँ छँदै छैन् ।

४. रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पेलेटहरूमा तस्बिर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे । उनका विचारसँग सहमत हुन सक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर, सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो । राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक वर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए । उनको आवाजले मूर्तरूप भने उनको निधनपछि मात्र पायो ।

५. श्रमिकको राजनीति पुँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महल (दरबार) ले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैं जागेर अघि बढ्नुपर्छ । वास्तवमा जसलाई जेको खाँचो छ, त्यसलाई पाउन ऊ स्वयं जाग्नुपर्छ । आमूल क्रान्ति ल्याउनुछ भने क्रान्तिकारीले स्वयं अग्रसरता देखाउनुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ । अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयंले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँ–ठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।

६. हामी कसैका होइनौं, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् । उनको यस कथनले मानव जीवनको कटुसत्यलाई ओकलेको छ । प्रकृतिमा हामी एक्लै आयौं तर समूहमा बाँच्छौं र धर्तीबाट बिदाचाहिँ एक्लै हुन्छौं । जो न्याय र सत्यमा अडिग भएर बाँच्यो उसको जीवन सार्थक हुन्छ । रूपचन्द्रको कथनी र करणीमा सामञ्जस्य गर्दै न्याय र सत्यको जगमा उभिन गरेको आह्वान् स्तुत्य छ ।

७. सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्छन् । यसका केही नमुना हेरौं…उनी पञ्चायती व्यवस्थाविरोधी एजेन्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे । ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् । ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुने गर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रम सजायको दायरामा ल्याउँथे । अरूको कानले मागेको हैन आफ्नो मुखले रोजेको भाषा र भाकामा आफ्ना कुरा राख्न पाउनुपर्छ भनेर खुला वाकस्वतन्त्रताको वकालत गर्थे । पञ्चायतलाई शोषक, फटाहाको अराजक व्यवस्था भन्थे । उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे सर्वसाधरण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे ।

तपाईं भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए । यस कारण के थियो भने हामीसामु छँदा आदरसूचक सर्वनामको प्रयोग गर्छौं तर उसको अनुपस्थितिमा अनादरसूचक सर्वनामको प्रयोग गछौं । यसको कुप्रभाव पर्ला कि भनेर सहयोगीले भन्दा उनी भन्थे…कसैलाई खुसी पार्न बोल्ने हैन । सत्य बोल्ने हो । उनी जसलाई जस्तो देख्यो त्यस्तै सम्बोधन गर्थे । कोही कालोधन सोहोर्न पल्केको छ भने उसलाई भ्रष्टचारीको विल्ला भिराइदिन्थे । उनी सबैलाई नाताले हैन नामले पुकार्थे । कसैले नाता लगाएमा मेरो नाम छैन, नामले पुकार भन्थे । जसले पनि आफूले चाहेअनुरूपको वाकस्वतन्त्रता जाहेर गर्न पाउनुपर्छ भन्थे । कतिपय प्रसंगमा कानुनी नजरबाट बचेर जनतालाई सूचित गर्ने काम फत्ते गराउन चाहन्थे । उनी सार्वजनिकरूपमै मानिसलाई भन्थे…तँ एक अंगालो श्रीमती वा श्रीमान् र एक थाल भातमा जीवन फ्याकिराखेको छस् ।

पालुङको जनकल्याण माविको निर्माणमा उनले सम्भ्रान्त परिवारकी पत्नी उमा शाहलाई आफू र अरूसरह ढुंगा बोकाएका थिए । यस्तै कारणले उनको वैवाहिक सम्बन्धविच्छेद पनि भयो । उनी राजनीतिक दलमा आबद्ध पनि थिएनन्, उनको आफ्नो दल पनि थिएन । उनी पूर्ण वाकस्वतन्त्रताको पक्षमा उभिएका थिए । अरूले भनेका कतिपय कुरा उनी बेठीक भन्थे । तर, आफूले चाहिँ आफू ठीक र संसार बेठीक भन्न पनि पाउनुपर्छ भन्थे । यसप्रकार उनी कतिपय ठाउँमा विवादास्पद व्यक्ति जस्ता पनि ठहरिएका छन् ।

उनका सार्वजनिक भएका धेरै कुरामध्ये केही अन्धसमर्थन गर्ने खालका छन् तर केही कुराहरू रहस्यले भरिएका छन् । उनको निधन ०५६ साल असार ७ गते ताका केही सहयोगीबाहेक लगभग उनी एक्लो र विक्षिप्त मनोदशामै थिए । उनी राजा वा विदेशी दलाल वा त्यस्तै कुनै अपराधिक गिरोहका समर्थक वा कार्यकर्ता भएका भए सामान्यभन्दा सामान्य जीवन यापन र मरण स्वीकार्नु पदैनथ्यो होला । जे होस्, रूपचन्द्र विष्ट अराजकताले नछोएका पवित्र व्यक्ति भने थिएनन् । उनमा राम्रा नीतिको खानी थियो । नराम्रा लाग्ने कुरामा पनि सत्य र न्याय भने लुकेकै पाइन्छ । जीवनको वास्तविकता कतै न कतै लुकेकै पाइन्छ ।

८. जनकल्याण माविको स्थापनाजस्ता प्रसंगहरूले पनि शिक्षाप्रतिको उनको अनुराग झल्कन्छ । सबै बाबुआमाले आफ्ना सन्ततीलाई अनिवार्यरूपले पढाउनुपर्छ भन्ने मान्यता उनको थियो । छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्ने र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्ने नियम बनाएका थिए । यस नियमले आजित भएका एक बुज्रुकले आफ्ना छोराछोरीलाई पढाए पनि वा नपढाए पनि तिमीलाई के मतलव भनेर रिस देखाए ।

यसको उत्तरमा रूपचन्द्रको मत थियो…नपढेर सन्तान बिग्रे डाँका गर्न हाम्रो घर आउँछन्, मुलुकको अहितमा काम गर्छन्, अतः सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ । घाटा हामीलाई हुन्छ । हाम्रो गाउँ ठाउँमा डकैत र गद्दार मान्छे हुँदा के तिम्रो मात्र इज्जत गुम्छ कि हाम्रो पनि ? रूपचन्द्रको यस प्रश्नले ती बुजु्रकको मुख थुनिएको थियो । त्यसैले उनी भन्थे, ‘छोराछोरी पढाउने बाबुआमा जिन्दावाद, छोराछोरी नपढाउने बाबुआमा मूर्दावाद ।’

९. उनको जीवनशैली बडो सरल थियो । ०५६ सालको संसदीय चुनावमा उनले जम्मा ८१ मत पाएर पनि उनी चुनावै जितेको जस्तो गरी खुसी भएका थिए । उनको मत थियो, कम्तीमा सत्य र न्यायमा रहने एउटा क्षेत्रमा ८१ जना त भाते कुकुर रहेछन् । यी सबै क्षेत्रमा यही दरमा भाते कुकुर हुने हुन् भने जनता सहजै जाननीय हुने थिए । (आफूलाई मत दिनेलाई त उनी भाते कुकुर भन्थे, यो विशेषण उनको नजरमा हामीले भन्ने गरेको माननीय वा सम्माननीय शब्दभन्दा कम महत्व राख्ने थिएन ।) उनी श्रम नगरीकन रहनै सक्दैनथे ।

उनी सार्वजनिक हितको काममा सरिक रहन्थे, उनी सधैं सत्य बोल्थे, ध्यान गर्थे, मूर्तिपूजाका विरोधी थिए । सधैं सत्य कुरा अरूलाई जानकारी दिन्थे । उनी जनचेतनाका संवाहक र गरिब, दुःखीका पहरेदार भएर जीवन समर्पण गरेका एक जागरूक योद्धा हुन् । उनी भन्थे, एक दिनमा २८८ वटा ५ मिनेट हुन्छन् । मात्र तिमी ३ वटा ५ मिनेट खर्च गर । ५ मिनेट सत्य बोल, ५ मिनेट सत्य सोच (ध्यान गर) र ५ मिनेट सत्य अरूलाई थाहा देऊ । यस प्रकार दिनमा कम्तीमा १५ मिनेट खर्च गर भन्ने उनको भनाइ थियो । (जनबोली डट कमबाट साभार)

WRITE COMMENTS FOR THIS ARTICLE