लद्दाख सीमाक्षेत्रका ३ सय वर्गकिमि भूमि चीनले मिचेको आरोप

गएको बर्खाभर भारत र चीनबीच लद्दाखको सीमाक्षेत्रमा निरन्तर झडप भइरह्यो। सो क्रममा चीनले भारतको नियन्त्रणमा रहेको ३ सय वर्गकिलोमिटर भूमि कब्जा गरेको भारतीय अधिकारीहरुले स्वीकार गरेका छन्।

भारतीय सरकारी स्रोतलाई उधृत गर्दै ब्लुमवर्गले जनाएअनुसार भारतको मात्र पहुँच रहेको विवादास्पद क्षेत्रको ३ सय वर्गकिलोमिटर भूमि अहिले चीनको नियन्त्रणमा पुगेको छ। सो क्षेत्रमा अहिले चिनियाँ सैनिकहरुले भारतीय सैनिकलाई प्रवेश गर्नै नदिएको बताइएको छ।

उक्त रिपोर्टअनुसार चीनले देप्साङ क्षेत्रमा २५० वर्गकिमि र पाङगोङ तालनजिकै ५० वर्गकिमि भूभाग नियन्त्रणमा लिएको हो।

यसअघि भारतले एक हजार वर्गकिमी भूभाग गुमाएको केही भारतीय सञ्चारमाध्यमले दाबी गरेका थिए।

भारत र चीनका सेनाबीच जुन १५ मा गलवान क्षेत्रमा झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो।

अत्यन्त कठिन भूगोलमा रहेको यो विवादास्पद क्षेत्रमा यस वर्ष हिउँदमा पनि दुवै देशका सेना तैनाथ हुने भएका छन्। सन् १९६२ को युद्धपति पहिलो पटक हिउँदमा सो क्षेत्रमा दुवै देशले सैनिक तैनाथ गरेको बताइएको छ।

सो क्षेत्रमा तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

यससँगै एसियाका दुई शक्तिशाली मुलुकबीच तनाव अझै लम्बिने अनुमान गरिएको छ। एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE