वामपन्थि पुनर्निर्माण आजको आवश्यकता

मथुरा ढकाल, काठमाडौं । ‘मेरो दृष्टिमा वामपन्थको अर्थ ती शक्तिहरुको समूह हो, जसले पूँजीवादी व्यवस्था र त्यसको नाफामुखी उद्देश्यको बिरोध गर्दछन् र जुन एउटा वैकल्पिक मानवतावादी, सहयोगात्मक समाज, समाजवादी समाजका लागि संघर्ष गरिरहेका छन्, जसका संघटकहरु श्रमिक वर्गका हितहरु हुन् । यो समाज पूँजीवाद ‍द्वारा उत्पन्न भौतिक दरिद्रता र मानसिक तुच्छताबाट स्वतन्त्र हुन्छ ।’ -कार्लोस रुज

 

नेपालमा कम्युनिष्ट आन्दोलन वाम आन्दोलनको पर्यायकोरुपमा रहिरह्यो । यहाँ सुरुदेखि नै भ्रम के रह्यो भने नेपालका कम्युनिष्ट पार्टीहरु मात्र वामपन्थी पार्टीहरु र मार्क्सवादलाई स्वीकार गर्ने र कम्युनिष्ट विचार मान्ने ब्यक्तिहरु मात्र वामपन्थीहरु हुन् ! मार्क्सवादबाहिर पनि वामपन्थी विचार हुन्छ र गैह्र कम्युनिष्टहरु पनि वामपन्थी विचारका हुन्छन् भन्ने कुरा नेपाली कम्युनिष्ट राजनीतिले कहिले पनि स्वीकार गर्न सकेन। संख्या र प्रभावको दृष्टिले नेपालको वामपन्थी आन्दोलन सधैभरी कम्युनिष्टहरुको प्रभावमा रह्यो । उनीहरुको आँखामा कम्युनिष्टहरु मात्र वामपन्थी कहलिए । पार्टी वामपन्थबाहिर पनि वाम विचार राख्ने ठूलो संख्यामा सामाजिक वा नागरिक वामपन्थीहरु छन् भन्ने यथार्थतालाई नेपाली वाम आन्दोलनले कहिल्यै स्वीकार गर्न सकेन । अर्को तर्फ वामपन्थी विचार राख्ने सामाजिक वामपन्थहरु पनि आफूलाई  संगठितरुपमा अगाडि बढ्न सकेनन् ।

 

कुनै पनि कम्युनिष्ट पार्टी वा अरु पार्टीहरुले आफूलाई  वामपन्थी घोषणा गर्दैमा वामपन्थी भइने होईन, न त कुनै विश्वविद्यालयले दिने प्रमाणपत्रले उ वामपन्थी कहलिन्छ । वामपन्थी हो वा होईन भन्ने कुरा उसले अख्तियार गरेको नीति र कार्यक्रम तथा व्यवहारले निर्धारण गर्ने कुरा हो । वामपन्थ हुनुको अर्थ र परिभाषा सर्वकालिक एउटै र उही हुँदैन । विश्व राजनीतिमा आएको परिवर्तन, व्यवस्थामा आएको परिवर्तन तथा समय, काल र परिस्थितिमा आएको परिवर्तनले वामपन्थको  अर्थ र परिभाषामा परिवर्तन ल्याउँछ । एकपटक वामपन्थी भएको दल  वा व्यक्ति संधैभरी वामपन्थी रहिरहन्छ भन्ने हुँदैन । वामपन्थ शब्द सुरुमा बेलायतको संसदमा सत्तापक्षलाई सभाको दाँया र प्रतिपक्षलाई सभाको बाँया बसाउने परम्पराबाट सुरु भएको हो । बिस्तारै यो शब्दहरु दाँयातर्फ बस्नेहरु यथास्थितिवादी हुने र परिवर्तन नचाहने र बायाँतर्फ बस्नेहरु परिवर्तन चाहने र परिवर्तनकारीको रुपमा लिइन थालिएको थियो । पछिल्लो चरणमा आउँदा कार्लोस रुजले भने जस्तै: पूँजीवादी व्यवस्था र त्यसको नाफामुखी उद्देश्यको विरोध गर्नेहरु, समाजवादी व्यवस्थाको स्थापनाका लागि संघर्ष गर्नेहरु र श्रमिक वर्गको हितमा काम गर्ने पार्टी वा व्यक्तिहरु नै वामपन्थीहरु हुन् ।

 

नेपालका सन्दर्भमा को हुन् त वामपन्थी?

नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई वामपन्थी दल भन्ने गरिन्छ। कुनै बेला कम्युनिष्टको साईनबोर्ड झुण्ड्याउनुलाई नै वामपन्थको असली परिचय मानिन्थ्यो । आधारभूतरुपमा पूँजीवादी व्यवस्था र नव-उदारवादी शोषणको विरोध गर्नै, समाजवादी समाजको निर्माण गर्न चाहने र उत्पीडित श्रमजिवि जनताको पक्षमा लड्ने ब्यक्ति वा दल नै वामपन्थी हुन् । नेपालको वामपन्थी आन्दोलनमा त्यतिले मात्र वामपन्थी हुन सकिँदैन् । नेपालको सन्दर्भमा वामपन्थी हुन राष्ट्रवादी र स्वाधिन राष्ट्रिय अर्थतन्त्रको पक्षधर समेत हुनुपर्दछ । त्यस्तैगरी गणतन्त्रका, राज्यको पूनर्संरचना, धर्म निरपेक्ष राज्य र समावेशी लोकतन्त्रका स्थापनाकालागि संघर्ष गरेका शक्तिहरु नै नेपालका वामपन्थीहरु हुन् । यसो भनिँरहँदा वामपन्थी आन्दोलनको राप र तापले वामपन्थी एजेण्डा स्वीकार गर्न बाध्य भएकाहरु हिजोका संसदवादी दलहरु भने वामपन्थी दल होईनन् । नेपालको संविधान जारीसंगै नेपालमा मौलिक ढंगको पूँजीवादी/जनवादी क्रान्ति सम्पन्न भएको संदर्भमा संसदीय व्यवस्थाको अन्त गरी समाजवादी समाजको निर्माण र समृध्द नेपाल निर्माण गर्न चाहने शक्ति नै वामपन्थी हुन् ।

 

कार्लोस रुजको परिभाषालाई आधार मान्ने हो भने नेपालका कम्युनिष्ट पार्टीहरुलाई समेत वामपन्थी पार्टी भन्न मुस्किल भईसकेको छ । उनका अनुसार पूँजीवादी व्यवस्था र त्यसको नाफामुखी उद्देश्यको बिरोध गर्ने दलहरु मात्र वामपन्थी दलहरु हुन् ।  कम्युनिष्ट पार्टीले आफ्नो दस्तावेजमा पूँजीवादी व्यवस्था र पूँजीवादी शोषणको बिरोध गरेका छन्, तर व्यवहारमा त्यस्तो देखिँदैन । नेपालको सबै भन्दा ठूला कम्युनिष्ट वाम दलहरु एमाले र एमाओवादी हुन् । उनीहरुले गएको २० बर्षमा आफ्नै नेतृत्वमा ६ ओटा सरकार गठन गरिसकेका छन् र यसबीचमा बनेका केही सरकारलाई छाडेर प्राय: धेरै सरकारहरुमा वामपन्थीहरु गठबन्धन साझेदारकोरुपमा सामेल छन् । आजसम्म वामपन्थी  नेतृत्वमा गठन भएका कुनै पनि सरकारले नेपाली जनताको पक्षमा काम गर्नुको सट्टा उल्टै पूँजीवादी व्यवस्थालाई सुदृढ गर्न र पूँजीवादी शोषणलाई बढावा गर्न लागिपरेको देखिन्छ। वामपन्थीहरु पटक–पटक सरकारमा गएर नव-उदारवादी आर्थिक नीति कार्यान्वयन गर्न र पार्टी भित्रको संकट व्यवस्थापन गर्नमै सीमित हुन पुगे ।

 

पछिल्लो चरणमा आईपुग्दा दलाल पूँजीको विकासमा स्वयम् पार्टीकै संलग्नता बढाएर लगेका छन् । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरण र व्यापारीकरणमा पार्टीका केन्द्रीय नेतादेखि कार्यकर्तासम्मको संलग्नताले नेपालमा नव-उदारवादी आर्थिक नीतिको विकास र सुदृढीकरणमा वाम पार्टीको संलग्नताको पुष्टी गर्दछ । वाम पार्टीहरुले पूँजीवादी आर्थिक नीतिको अनुसरण गर्नु बाहेक अर्को कुनै उपयुक्त विकल्प प्रस्तुत गर्न सकेका छैनन् । उनीहरुले आफूलाई वामपन्थी बनाई राख्न सर्वप्रथम नव-उदारवादी आर्थिक नीतिलाई परित्याग गर्नु पर्दछ र समाजवादी आर्थिक नीति अवलम्वन गर्नुपर्दछ ।

 

नेपाली वामपन्थका लागि हिजो भन्दा आज चुनौतिहरु थपिएका छन् । हिजो नेपाली वामपन्थीहरुको कार्यभार नेपालमा नयाँ जनवादी क्रान्ति जुन एक प्रकारको पूँजीवादी क्रान्ति नै थियो, जुन मौलिक ढंगले सम्पन्न भईसकेको छ । अबको नेपाली क्रान्तिको कार्यदिशा समाजवादी क्रान्ति भएकाले नेपाली वामपन्थीका लागि थप चुनौतिहरु थपिएका छन् । अबको वामपन्थी आन्दोलन आर्थिक क्रान्तिसंग मात्र जोडिएको छैन कि सामाजिक, राजनीतिक, सांस्कृतिक रुपान्तरणसंग पनि जोडिएको छ । आज पुँजीवाद आफ्नो रुपहरु परिवर्तन गर्दै कर्पोरेट पूँजीवाद अथवा भूमण्डलीकृत पूँजीवादमा परिवर्तन भएको सन्दर्भमा नेपाली वामपन्थले आफ्ना संघर्षका रुपहरु बदल्नु पर्ने आवश्यकता भईसकेको छ। आज नव-उदारवाद नेपाली समाजको अर्थतन्त्रमा मात्र सीमित नभई नेपाली समाजको छिद्र छिद्रमा प्रवेश गरेको छ । त्यसैले नेपाली वामपन्थहरु केवल शासक वर्गका राजनीतिक अंगहरुका बिरुध्द मात्र होईन, त्यसको नेतृत्व, समाजमाथि त्यसको सांकृतिक नियन्त्रण र शासक वर्गको वैचारिक नियन्त्रणबिरुध्द पनि उठ्नु जरुरी भईसकेको छ । त्यति मात्र होईन, आम नेपाली नागरिकहरुलाई ती संयन्त्रहरु वा संस्थाहरु जसले मानिसहरुलाई पूँजीवादी व्यवस्था स्वीकार गर्न बाध्य बनाउँछ, पहिचान गर्न सक्षम पनि बनाउनु परेको छ।

 

नेपाली वामपन्थका लागि राष्ट्रिय स्वाधिनताको मुद्दा पनि पेचिलो बन्दै आएको छ । राष्ट्रिय स्वाधिनता नेपाली वामपन्थले विगतदेखि उठाउँदै आएको मुद्दा हो । नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेप चर्कोरुपमा रहँदै आएको छ । विशेष गरी भारतले नेपालको राजनीतिमा मात्र होईन, विकास निर्माण, प्राकृतिक स्रोत साधनमा मात्र होईन नेपालको सुक्ष्म व्यवस्थापनमा समेत चासो लिने गर्दछ । यसरी भारतले नेपालमा हस्तक्षेप बढाउनुको प्रमुख कारण नेपालको भारत माथिको आर्थिक परनिर्भरता हो । त्यसैले नेपालले वैदेशिक परनिर्भरता न्युनिकरण गर्न नेपालमा आत्मनिर्भर र अन्तरनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्दछ । यी सबै कार्य गर्ने जिम्मेवारी अहिले नेपाली वामपन्थीको जिम्मामा आएको छ ।

 

भूमण्डलीकृत पूँजीवाद एकीकृतरुपमा आफ्नो शोषण र उत्पिडनका जालोहरु नेपाली समाजको छिद्र छिद्रमा प्रवेश गरको अवस्थामा नेपाली वामपन्थहरु भने विखण्डित र बिभाजित अवस्थामा छन्। विभाजित वामपन्थी आन्दोलनले यी सबै चुनौतिलाई सामना गर्ने सामर्थ्य राख्दैन । नेपाली वामपन्थीको रणनीतिक कार्यभार बढिरहेको सन्दर्भमा नेपाली वामपन्थहरुको पनि पूनर्निर्माण हुन जरुरी भईसकेको छ। त्यसका लागि नेपाली वामपन्थले वामपन्थहरुको पुनर्निर्माणका लागि दुई ओटा कार्यभारहरु पूरा गर्नु पर्दछ । पहिलो: पार्टी वामपन्थहरुबीच एकता र दोस्रो: पार्टी वामपन्थ र सामाजिक वामपन्थबीचको संयोजन । नेपाली पार्टी वामपन्थहरु धेरै टुक्रामा विभाजित अवस्थामा छन् । विभाजित वामपन्थले समाजवादी क्रान्ति पूरा गर्न, कर्पोरेट पूँजीवादका प्रभावलाई न्युनिकरण गर्न, श्रमिक वर्गका हकहित रक्षा गर्न असमर्थ हुने हुँदा नेपालका वामपन्थी शक्तिहरुबीच तत्काल एकताको आवश्यकता छ ।

 

अर्कोतर्फ नेपाली समाजमा पार्टी वामपन्थ बाहिर वामपन्थी विचार राख्ने ठूलो समूह असंगठितरुपमा छरिएर रहेका छन्, यस्ता समूहलाई सामाजिक वा नागरिक वामपन्थ भनिन्छ । उनीहरु अत्यन्तै गतिशील र क्रान्तिकारी पनि छन्, जो परिवर्तन ल्याउनका लागि आफ्नो शक्ति निर्माण गर्न चाहन्छन् । सर्वप्रथम यी छरिएर रहेका सामाजिक वामपन्थहरुलाई संगठित गर्नुपर्दछ र त्यसपछि  पार्टी वामपन्थ र सामाजिक वामपन्थलाई एकीकृत गरेर मात्र एउटा विशाल नव-उदारवाद बिरोधी सामाजिक वामपन्थी मोर्चा निर्माण गर्नुपर्नेछ, जसबाट मानवतावादी र सहयोगात्मक समाजवादी समाज निर्माण गर्न सहयोय पुगोस् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE