विंगर पेड्रो रोमामा अनुबन्धित

इटालियन सिरी ‘ए’ क्लब रोमाले स्पेनिस विंगर पेड्रोसँग तीन वर्षको सम्झौता गरेको छ । सिजन सकिएलगत्तै लन्डन क्लब चेल्सी छाडेका पेड्रोलाई रोमाले तीन वर्षका लागि अनुबन्धन गरेको हो ।

उनी फ्रि–ट्रान्सफरमार्फत रोमामा आबद्ध भएका हुन् । रोमाले मंगलबार समर ट्रान्सफरको पहिलो खेलाडीको रूपमा पेड्रोलाई सार्वजनिक गरेको हो । पेड्रोले यो महिनाको सुरुवातमै आफूले चेल्सी छाड्ने घोषणा गरेका थिए । ‘रोमा आउन पाउँदा निकै अनुग्रही छु । ‘नयाँ चुनौतीलाई लिएर निकै उत्सुक छु । तर, आउने सिजनको क्लबको लक्ष्य पूरा गर्नेछु ।’ पेड्रोले भने, ‘म समर्थकलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई स्वागत गरे । आशा गर्छु, म नि उनीहरूलाई खुसी पार्नेछु ।’

रोमाका कार्यकारी अधिकृत गुइडो फिएन्गाले स्टाडियो ओलम्पिकोको शानदार संग्रहमा पेड्रो जोडिएको हेर्न चाहेको बताए । ‘हाम्रा लागि यो सौभाग्यको कुरा हो, रोमा परिवारका लागि पेड्रोजस्ता क्षमताको खेलाडी स्वागत गर्नका लागि सक्षम भएका छांै,’ उनले भने ।

पेड्रोले आफ्नो फुटबल करियरमा २५ मुख्य उपाधि जितेका छन् । जसमा विश्वकप, युरो कप र च्याम्पियन्स लिगसमेत समावेश छन् । स्टामफोर्ड ब्रिजमा पाँच वर्ष बिताएका उनले मुख्य तीन उपाधि जितेका छन् । उनको चेल्सीका लागि अन्तिम समयको खेल सुखद रहेन । एफए कपको फाइनलमा चेल्सी पराजित भएको खेलमा पेड्रोले चोट बोक्दै मैदान बाहिरिएका थिए । लगत्तै उनको शल्यक्रिया गरिएको थियो । उनले चोटका कारण सिरी ‘ए’का सुरुवाती केही खेल गुमाउनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE