विश्वकप छनोट: नेयमारले बोलिभियासँगको खेल गुमाउन सक्ने…

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको पहिलो खेल स्टार स्ट्राइकर नेयमारले गुमाउन सक्ने भएका छन् । उनले शनिबार बिहान बोलिभियाविरुद्ध हुने खेल गुमाउने सम्भावना प्रबल रहेको बताइएको छ । नेयमार ब्राजिलको राष्ट्रिय टोलीमा रहे पनि चोटका कारण भने मैदानमा नदेखिने सम्भावना देखिएको जनाइएको छ । उनी ढाडको समस्याको कारण छनोटको पहिलो खेल गुमाउने सम्भावना रहेको बताइएको हो ।

बुधबारको प्रशिक्षण सत्रमा नेयमार पहिलो टोलीमा समावेश भए पनि बिहीबार भने उनी अनुपस्थित रहेका थिए । उनी खेलका लागि साओ पाउलो प्रस्थान गरे पनि बिहीबार अभ्यास गर्न असमर्थ रहेको जनाइएको छ ।

राष्ट्रिय टोलीका डाक्टर रोड्रिगो लस्मारले उनले उपचार भइरहेको जनाएका छन् । उनले नेयमारमा सामान्य सुधार देखिएको बताएका छन् । तर, उनी मैदानमा देखिने छन् वा छैन भन्ने बारे अहिले नै भन्न गाह्रो भएको बताए ।

नेयमार बिना पनि कोपा अमेरिका च्याम्पियन ब्राजित बोलिभियालाई पराजित गर्दै तीन अंक जोड्न चाहन्छ । शनिबार बिहान हुने बोलिभियाविरुद्धको खेलपछि ब्राजिलले पेरुसँगको खेलका लागि लिपाको यात्रा गर्नेछ ।

ब्राजिल र बोलिभियाबीचको खेल शनिबार बिहान ६:१५ बजे सुरु हुनेछ । बोलिभियाविरुद्ध ब्राजिल निकै नै बलियो देखिएको छ । हालसम्म दुबै टोली ३० पटक आमनेसामने हुँदा ब्राजिलले २१ पटक जितेको छ । यता बोलिभियाले भने पाँच खेल जित्दा चार खेल बराबरी खेलेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE