विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड नाघ्यो, मृत्युको संख्या १० लाख नजिक

विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या तीन करोड नाघेको छ। तीमध्ये दुई करोड १७ लाखभन्दा बढी निको भएका छन्।

कोरोनाबाट अहिलेसम्म नौ लाख ४४ हजार ६४० जनाको मृत्यु भएको छ। अहिले पनि ७३ लाख दुई हजार १९६ जना उपचाररत छन्। उपचाररतमध्ये एक प्रतिशतभन्दा कम संक्रमित मात्र गम्भीर छन्। गम्भीर बिरामी परेकाको संख्या ६१ हजार २३८ छ।

गएको २४ घन्टामा विश्वभर तीन लाख पाँच हजारभन्दा धेरै नयाँ संक्रमित पत्ता लागेका छन्। सबैभन्दा धेरै भारतमा ९७ हजार नयाँ संक्रमित फेला परेका छन्। त्यसपछि अमेरिकामा ३८ हजार १४६ र ब्राजिलमा ३७ हजार ३८७ नयाँ संक्रमित थपिएका छन्।

कोरोनाभाइरस संक्रमणबाट बुधबार विश्वमा छ हजार १५३ जनाको मृत्यु भयो। जसमध्ये सबैभन्दा बढी भारतमा एक हजार १३९ जनाको मृत्यु भयो। अमेरिकामा एक हजार ८४ र ब्राजिलमा ९६७ जनाको मृत्यु भयो।

भारतमा अहिलेसम्म ५१ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ४० लाखभन्दा बढी निको भएका छन् भने ८३ हजार २३० जनाको मृत्यु भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE