व्यासभूमिको प्रचारका लागि अष्टोत्तरशत महायज्ञ

चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित अष्टोत्तरशत (१०८) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञ हुने भएको छ । वेद अनुयायी प्रतिष्ठान, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दू महासङ्घ तनहुँको संयुक्त आयोजनामा कात्तिक १५ गतेदेखि २३ गतेसम्म महायज्ञ हुन लागेको हो ।

अनादि वैदिक सनातन धर्मसंस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने र महर्षि वेदव्यासको जन्मभूमि व्यास पराशर क्षेत्रलाई विश्वमाझ चिनाउने प्रमुख उद्देश्यसहित अष्टोत्तरशत (१०८) श्रीमद्भागवत विराट् ज्ञान महायज्ञ गर्न लागिएको वेद अनुयायी प्रतिष्ठान तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिनुभयो ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यासभूमिको पनि महत्वपूर्ण योगदान रहन सक्ने काफ्लेले जानकारी दिनुभयो । “भ्रमण वर्ष सफल बनाउन र व्यासभूमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यस महायज्ञले योगदान दिने अपेक्षा गरेका छौं,” काफ्लेले भन्नुभयो ।

काफ्लेका अनुसार उक्त महायज्ञमा नेपालका विभिन्न भागबाट साधुसन्तका अलवा भारतबाट पनि भक्तजन आउने भएका छन् । महायज्ञमा नेपाल र विदेशबाट गरी करीब दुई लाख भक्तजन आउने अनुमान गरिएको छ ।

व्यासभूमिलाई विश्वमाझ चिनाउन विभिन्न समयमा कार्यक्रम भइरहेको र उक्त कार्यक्रमले व्यासभूमिको पहिचानलाई विश्वमाझ पु¥याउन सफल भएको काफ्लेको भनाइ छ । विश्वका हिन्दूधर्मालम्वी र ओमकार परिवारको मूल तीर्थस्थल वनाउने उद्देश्यले व्यासक्षेत्रमा गत वर्ष १८ महीने अखण्ड हरिनाम आयोजना गरिएको थियो । उहाँले भन्नुभयो, “व्यासभूमिलाई मुख्य तीर्थस्थल बनाउनको लागि हामी लागिपरेका छौँ । विश्वका वैदिक सनातन धर्मप्रेमी र ओमकार परिवारको मुख्य तिर्थस्थलको रुपमा विकास गर्न यसलाई जरुरी छ ।”

श्रीमद्भागवतको सामान्य पुरश्चरणका सम्बन्धमा ऋषिमुनीले अष्टोत्तरशत (१०८) पाठपारायणको विशेष विधान गरेका छन् भने सप्ताहे बहुसम्मत भनी सप्ताह पारायणलाई उत्तम बनाएको र यही शास्त्र वचनलाई आधार मानी व्यासभूमिमा अष्टोत्तरदशत (१०८) श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी गरिएको आयोजकले जनाएको छ ।

महायज्ञमा श्रीमद्भागवतका मर्मज्ञ एवम् भक्तिमार्गका प्रखर वक्ता श्रीहरिप्रसाद अर्यालले कथावाचन गर्नुहुनेछ । महायज्ञ सञ्चालनका लागि १००८ सदस्यीय महायज्ञ आयोजक मूल समिति गठन गरिएको छ । महायज्ञको अवसरमा १०८ श्रीमद्भागवत महापुराण पाठपारायण, श्रीसुक्त, पुरुषसुक्त, रुद्रसुक्त पाठपारायाण, ऋग, यजु, साम, अथर्ववेद पाठपारायाण, लघुरुद्राभिषेक र अग्निस्थापनालगायतका अनुष्ठा सञ्चालन गरिने छ ।

चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि दमौली प्रचारप्रसार अभावमा ओझेलमा परेकाले यसलाई उजिल्याउन सरोकारवाला जुटेका छन् । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार नहुँदा ओझेलमा परेको महशुस गरिएको छ ।

विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरेपनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताउनुभयो । व्यासको भूमिलाई विश्वमाझ चिनाउन बेला–बेलामा कार्यक्रम भइरहेपनि त्यसले अझै मूर्तरुप पाउन नसकेको उहाँको गुनासो छ । “व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धन टेवा पु¥याउने उद्देश्यले बेला–बेलामा कार्यक्रम भइरहेकै छन्,” उहाँले भन्नुभयो ।

करीब ५५ सय वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।

विश्वको सबभन्दा लामो (एक लाख श्लोक) र दोस्रो महाकाव्य ‘महाभारत’ पूर्वीय लौकिक संस्कृत साहित्यको ऐतिहासिक आर्ष ग्रन्थ र बृहत् ज्ञानराशि भएको धर्मग्रन्थमा महाभारत र पुराणका रचयिता तथा चारै वेदका सम्पादक व्यासको तपस्या स्थल नेपालकै दमौली नजिकको गुफामा रहन्थे भन्ने भनाइ रहेको छ । योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवम् हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी, छाब्दीको सङ्गमलाई व्यासको जन्मभूमि, कर्मभूमि, तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’मा दमौली क्षेत्रलाई कुमारबहादुर जोशीले आफूले अन्तवार्ताका क्रममा मादी र सेतीको सङ्गम नै व्यास(कृष्ण द्वैपायन)को जन्मस्थल भएको पाएको जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE