शिष्टाचार भेटवार्ता सम्पन्न

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपमहासचिव डा कनेम राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक समेत हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सो भेटवार्ता भएको थियो । डा कनेम नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुग्नुभएको थियो । सन् २०१७ मा यूएनएफपिएको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको थियो हो । उहाँको साथमा एशिया र प्रशान्तका लागि युएनएफपिएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपिएका चिफ अफ स्टाफ पियो स्मिथ हुनुहुन्छ ।

सो भेटमा यहाँस्थित युएनएफपिएका देशीय निर्देशक लुम्ना बाकी पनि सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँहरुबीच युएनएफपिएको आर्थिक एवं प्राविधिक सहयोगमा मन्त्रालयले सञ्चालन गरेका यौन तथा प्रजनन स्वास्थ्य, परिवार व्यवस्थापन, सुरक्षित मातृत्व लगायतका कार्यक्रमका विविध पक्षमाथि छलफल गरिएको थियो । यस वर्ष युएनएफपिएको ५०औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी)को २५औँ वार्षिकोत्सव मनाइँदैछ ।

सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेका उपलब्धिसँग साक्षात्कार हुन डा कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो । उपप्रधानमन्त्री यादवले नेपालको संविधानमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई मौलिक अधिकारमा समावेश गरिएको जानकारी उपमहासचिव डा कनेमलाई दिँदै आइसिपिडीको कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको बताउनुभएको थियो । उपमहासचिव डा कनेमले आज नै प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटघाट गर्नुभएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँग आइतबार भेटवार्ता गर्नुभएको थियो । नेपालले सन् १९७१ देखि युएनएफपिएसँगको आर्थिक एवं प्राविधिक सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य, परिवार व्यवस्थापन, लैङ्गिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE