सत्ता र शक्तिबाट टाढा रहेका, सामान्य जीवन शैलीका नेता बर्मन बुढाको अवसान

रोल्पाको थवाङ नेपालको राजनीतिमा सधैँ ‘विद्रोहको केन्द्र’का रुपमा परिचित छ। सो मगर बस्तीले हरेकजसो कम्युनिस्ट आन्दोलनलाई साथ दिँदै आएको छ। विद्रोही थवाङको पहिलो पुस्ताका नेता थिए, धर्मबहादुर रोका, दिलकुमार बुढा, तेजमान घर्ती र बर्मन बुढा।

त्यही पुस्ताका नेता बर्मन बुढाको बुधबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा निधन भयो। पूर्व सांसद समेत रहेका बुढा ९० वर्षका थिए। उनलाई आन्द्राको क्यान्सर भएको थियो। एक वर्षअघि सो रोगको पहिचान भएको थियो।

‘थवाङको पहिलो पुस्ताका कम्युनिस्ट नेतामध्येका अन्तिम जीवित व्यक्ति हुनुहुन्थ्यो बर्मन,’ रोल्पा जिल्ला विकास समितिका पूर्वसभापति झक्कु सुवेदीले भने, ‘थवाङको पहिलो पुस्ताको सकियो। एउटा इतिहास सकिएको छ।’

२०१२ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेका बुढा लामो समय थवाङमा नेताको रुपमा रहे। मोहनविक्रम सिंहको संगतले बुढा कम्युनिस्ट पार्टीसँग जोडिए। उनलाई रोल्पाको पहिलो कम्युनिस्टको रुपमा लिइन्छ।

‘विदेशीहरुले भने उहाँको बारेमा धेरै लेखेका छन्। तर नेपालमा भने कमै लेखिएको छ,’ रोल्पाका पत्रकार किरण पुनले भने, ‘कम्युनिस्ट आन्दोलनमा रोल्पाको जुन स्थान छ, त्यो बर्मनकै योगदान हो।’

बर्मन पहिले गाउँका मुखिया थिए। स्थानीय तहको निर्वाचन जितेर प्रधानपञ्च बने। तर, थवाङले २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावको बहिस्कार गर्‍यो। थवाङमा शून्य मत खस्यो। त्यसैलाई आधार बनाएर पञ्चायतले थवाङमा ठूलो दमन गर्‍यो।

पञ्चायती सरकारले बर्मनलाई जेलमा राखेको बेला उनकै बहिनी तिलकुमारी बुढाले प्रधानपञ्चको चुनाव जितिन्।

२०४८ सालको आमनिर्वाचनमा संयुक्त जनमोर्चाको टिकटबाट बुढा रोल्पाबाट सांसद निर्वाचित भए। उनले पञ्चायतकालभर सांसद रहेका र डेढ दशक मन्त्री समेत बनेका बालाराम घर्तीलाई पराजित गरेका थिए।

बर्मनले लिएको हरेक निर्णयलाई सिंगो थवाङले साथ दिँदै आएको थियो। उनको नेतृत्वमा पूरै गाउँ एकढिक्का थियो।

‘अहिले भने अलि विभाजित भएको छ। त्यसमा विप्लवको नेकपा माओवादी र नेकपा दुवैमा मानिस छन्। नेकपाले स्थानीय तहको चुनाव जितेको छ,’ सुवेदीले भने।

घर्तीलाई पराजित गरेर बुढाले जति चर्चा हासिल गरेका थिए, त्योभन्दा बढी उनको पोसाकको चर्चा हुन्थ्यो। उनी कछाड लगाएर हिँड्थे।

‘मैले उहाँलाई २०३६ सालदेखि नै चिनेको हो। उहाँ रोल्पा होस् कि काठमाडौँ वा विदेश जाँदा समेत कछाड नै लगाउनुहुन्थ्यो,’ सुवेदी सम्झिन्छन्, ‘अहिले जस्तो देखावटी पहिचानवादी हुनुहुन्थेन। उहाँका जीवन शैली नै त्यही थियो। सामान्य जीवन शैलीको नेता हुनुहुन्थ्यो।’

२०५१ सालका मध्यावधि निर्वाचन संयुक्त जनमोर्चाले बहिस्कार गर्‍यो। २०५२ सालमा नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गर्‍यो। बढ्दो उमेरको कारण उनी राजनीतिमा सक्रिय भएनन्। काठमाडौँतिरै रहे।

सत्ता र शक्तिबाट टाढा रहेका बर्मन पछिल्लो समय बुढ्यौलीसँगै राजनीतिबाट निष्क्रिय थिए।

‘तर, उहाँको निष्क्रियता उमेरको कारणले मात्रै थिएन। पावर पोलिटिक्समा रम्ने मानिस नभएको कारण पनि गुमनाम जस्तै हुनु भएको थियो,’ रोल्पाका पत्रकार पुनले भने।

नेकपा एमाले र माअ‍ोवादी केन्द्र मिलेर नेकपा बनेपछि उनी सल्लाहकार परिषदका सदस्य थिए।

बुधबार बिहान उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो।

WRITE COMMENTS FOR THIS ARTICLE